नेपालले एशियन कपको तेश्रो चरण खेल्न पाउने निश्चित
काठमाडौं । नेपाल एशियन कप २०२३ छनौट अन्तर्गतकोे तेश्रो चरणका लागि छनौट भएको छ । एशियाली फुटबल महासंघ (एएफसी) ले एशियन कप छनौटको नियममा परिवर्तन गरेपछि नेपालले सिधै एएफसी एशियन कप २०२३ प्रवेशका लागि तेश्रो चरणको छनौटमा सिधै प्रवेशको मौका पाएको हो ।
एएफसीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार नेपाल सन् २०२३ मा चिनमा आयोजना हुने एएफसी एशियन कपका लागि तेश्रो तथा अन्तिम चरणमा प्रतिस्पर्धामा निम्ति छनौट भएको छ । नेपाल दोश्रो चरणमा भएका समूहगत खेलहरुबाट चौथो स्थानमा रहेकामध्ये उत्कृष्ट ८ मा समावेश भएपछि एएफसीको नयाँ नियमानुसार सिधै तेश्रो तथा अन्तिम चरणमा प्रवेश पाउन सफल भएको हो ।
नेपालसँगै समूहको चौथोमध्येको उत्कृष्ट ८ मा पर्दै थाइल्याण्ड, सिंगापुर, मंगोलिया, अफगानिस्तान, माल्दिभ्स्, हङ्गकङ्ग र श्रीलंका रहेका छन् । नेपाल रहेको समूहबाट अष्ट्रेलिया शिर्ष स्थानमा रहँदै फिफा विश्वकप २०२२ र एशियन कप २०२३ को छनौटको अघिल्लो चरणमा प्रवेश गरेको थियो ।
कुवेतमा भएको दोश्रो चरणको छनौट अन्तर्गत समूह बीको खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले हराएको थियो भने जोर्डनसँग ३–० र अष्ट्रेलियासँग पनि समान ३–० गोल अन्तरले हारेको थियो । एएफसीले बुधबार अन्तिम चरणमा छनौट हुने २४ मध्ये २२ वटा राष्ट्रको नाम सार्वजनिक गरेको छ । एशियन कपको लागि दोश्रो चरणको छनौट पश्चात एशियन कपको आयोजक चिन र फिफा विश्वकप २०२२ आयोजक तथा एशियन कपको साविकको विजेता कतारले प्रतियोगितामा सिँधै स्थान सुरक्षित गरिसकेको छ ।
तसर्थ सबै ८ समूहका दोश्रो हुने टिममध्ये तल्लो तीनमा रहेका तीन राष्ट्र, तेश्रो हुने उत्कृष्ट ८ टिम तथा चौथो हुनेमध्येका उत्कृष्ट ६ टिमलाई पनि एएफसीले तेश्रो तथा अन्तिम चरणको छनौटमा प्रवेश दिएको छ । यस्तै समूहको पाँचौ हुने टिममध्येको उत्कृष्ट तीन पाँचौ स्थानमा रहन सफल राष्ट्रहरुले पनि एशियन कप प्रवेशका लागि तेश्रो तथा अन्तिम चरणमा प्रवेश पाउने भएका छन् ।
यसपछि बाँकी रहेका ३६ देखि ३९औं वरियताका राष्ट्रहरुले तेश्रो चरण छनौटमा पुग्नका निम्ति प्ले अफ खेल्नुपर्नेछ । दुईवटा लेगमा हुने प्ले अफका खेलहरु २०२१ को सेप्टेम्बर ७ देखि अक्टोबर १२ मा हुनेछ । प्लेअफको ड्र भने २०२१ जुन २४ मा हुने एएफसीले जनाएको छ । प्ले अफबाट शिर्ष दुई राष्ट्रले तेश्रो चरणको छनौटमा प्रवेश पाउनेछ । प्ले अफ खेल्ने राष्ट्रहरुमा इण्डोनेशिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआम रहेका छन् ।