बालबालिकालाई कोरोनाको तेस्रो लहरबाट जोगाउन अहिलेदेखि नै तयारी थालौँ

कोरोनाको दोस्रो लहर, पहिलो लहरभन्दा गम्भीर र फरक छ । अहिलेको कोरोनाले युवा र किशोरकिशोरी बढी प्रभावित भएका छन्। पहिलो लहरमा ज्येष्ठ नागरिक र दीर्घरोगी धेरै प्रभावित भएका थिए । बिस्तारै अहिले बालबालिकामा पनि उच्च जोखिम देखिएको छ। विभिन्न देशमा भाइरसको नयाँनयाँ भेरियन्टहरु देखिन थालेका छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको महामारी भएकाले तत्काल नियन्त्रणको सम्भावना छैन । सबै मानिस सङ्क्रमित भइसकेपछि वा खोप लगाएर प्रतिरोधात्मक क्षमता बढाएमात्र नियन्त्रणमा आउन सम्भव छ । कतिपय देशहरुमा तेस्रो लहर सुरु भइसकेको र वैज्ञानिकहरुले नेपालमा पनि तेस्रो लहर देखिन सक्ने र तेस्रो लहरमा बालबालिका धेरै प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । अहिले पनि कोरानाको पहिलो लहरको तुलनामा सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।

बालबालिकाको लागि कोरोना भाइरस विरुद्धको खोपको विकास भइसकेको छैन । केही देशमा खोपको परीक्षण हुन लागेको भनिए पनि विकास हुन र खोप लगाउनका लागि अझै समय लाग्न सक्छ । बालबालिका स्वभावैले एक अर्कासँग खेल्ने, स्कुल जाने र एकअर्कोमा घुलमिल भइहाल्ने स्वभावका हुन्छन् । उनीहरुलाई जनस्वास्थ्यको मापदण्डको पालना गर्न लगाउन गाह्रो हुने भएकाले झनै जोखिम हुन्छ । कोरोनाको तेस्रो लहर आएमा अहिले हामीसँग भएको जनशक्ति र पूर्वाधारले बालबालिकाको उपचारको लागि पुग्दैन ।

पूर्वाधार मात्र होइन, भएका जनशक्तिलाई तालिमसँगै पूर्वाधार थप गरेर उपयुक्त मेसिन, औजार, जनशक्ति, बालरोग विशेषज्ञहरुलाई तालिम दिएर तयारी अवस्थामा राख्नुपर्छ । बालबालिकालाई सधैँ घरभित्र थुनेर राख्न सम्भव हुँदैन । स्कुल पठाउनै पर्छ । उनीहरुले खेल्न र घुम्न पाउनै पर्छ । यो बालअधिकार भित्रको कुरा पनि हो । कुनै न कुनै समय सरकारले स्कुल खोल्नु नै पर्छ । यी कारणहरुले गर्दा बालबालिका बढी सङ्क्रमित हुने सम्भावना रहन्छ।

१८ वर्षमुनिका बालबालिकाको लागि कोरोनाको खोपको विकास भएको छैन । बालबालिकालाई प्रयोग गरिने औषधिहरु पनि छैनन् । अहिले कोरोनाका बिरामीहरुलाई दिइरहेको औषधि बालबालिकालाई प्रयोग गर्न मिल्दैन । यी विभिन्न कारणले गर्दा बालबालिकाहरुमा कोरोना सङ्क्रमण एकदमै छिटो फैलन सक्छ ।

ठूलो मानिस र बालबालिकामा औषधिको मात्रा पनि मिल्दैन । बालबालिकामा उपचार गर्ने प्रक्रिया फरक हुन्छ । ठूला र साना बालबालिकालाई दिने अक्सिजन मिल्छ, तर अक्सिजन दिने उपकरण मिल्दैन । आईसीयूमा हुने बेडहरु, क्रिटिकल केयरका सामानहरु, मनिटरदेखि सुईसम्म बालबालिकाको लागि छुट्टै प्रयोग गर्नुपर्ने हुन्छ । भेन्टिलेटरहरु पनि छुट्टै हुन्छ । कुनै, कुनै प्रयोग गर्न सकिए पनि त्यसलाई केही परिवर्तन गरेर मात्र प्रयोग गर्न सकिन्छ ।

सहरका मानिसहरु धेरैले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । नलगाएकाहरु पनि धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । तर अबको सङ्क्रमण गाउँगाउँमा फैलने सम्भावना धेरै छ। गाउँघरमा झनै आवश्यक जनशक्ति र पूर्वाधारको अभाव छ । त्यसको लागि अहिलेदेखि नै विशेष व्यवस्था गर्नुपर्ने हुन्छ ।

बालबालिकालाई केही प्रतिशत बेड छुट्याउनेसँगै सरकारले केही महत्त्वपूर्ण निर्णय गरेर जानकारी गराइसकेको छ । तर त्यतिले मात्रै पुग्दैन । परिपत्रसँगै कार्यान्वयनका लागि पहल गर्नुपर्छ । अहिलेदेखि नै स्रोत साधनको व्यवस्थापन तथा अनुगमन गर्नुपर्छ । जनशक्तिको व्यवस्थापन र परिचालन गर्नुपर्छ ।

सामूहिक रुपमा सम्बन्धित सबै क्षेत्र यसमा लाग्नुपर्छ । विशेषगरी बालरोग विशेषज्ञहरुको संस्था, बालबालिकालाई सहयोग गर्ने अन्य सङ्घ संस्थाहरु तथा प्रदेश र पालिकाहरु सबैले बालबालिकालाई प्राथमिकतामा राखेर काम सुरु गर्नुपर्छ । जनसङ्ख्याको ४० प्रतिशत बालबालिका भए पनि हाम्रो तयारी खासै भएको छैन । वयस्क र प्रौढका लागि मात्र खर्च भएको छ ।

४० प्रतिशत बालबालिकालाई केही नभए पनि हाम्रो स्रोतको २० देखि २५ प्रतिशत अहिले नै छुट्याउन आवश्यक छ । नत्र महामारी आइसकेपछि एकैपटक तयारी गर्न नसकिने भएकाले अभाव झेल्न बाध्य हुनुपर्छ । थोरै सहज वातावरण बन्ने बित्तिकै त्यसको तयारी थाल्नुपर्छ । नेपाल पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर उच्च भएको देश हो । स्रोत साधनको व्यवस्थापन गरेमा अहिले मात्र नभइ आउँदो दिनमा दिगो विकासको लक्ष प्राप्त गर्न ठूलो योगदान पुर्याउँछ ।

अहिलेदेखि नै मापदण्डको पालना गर्ने, तालिमको व्यवस्थापन, क्षमता अभिवृद्धि गर्ने, हामीसँग भएका क्षमताको अध्ययन गर्ने र त्यसको प्रतिवेदन तयार पार्ने गर्नुपर्छ । खोपको प्राथमिकता र लक्ष्य बालबालिका हुन् भनेर नेपालको खोप ऐनमा उल्लेख गरिएको छ। महामारीमा प्रयोग हुने खोप बाहेक पहिलो प्राथमिकतामा पाँच वर्षमुनिका बालबालिका र महिला हरु नै रहन्छन् । उन्मूलन गर्नुपर्ने रोगहरु आउन नदिनका लागि बालबालिकाहरुलाई खोप लगाउनुपर्छ। कोरोनाको खोपको विकास भएमा त्यसको पहिलो प्राथमिकतामा बालबालिकाहरु रहन्छन् ।

बालबालिका सङ्क्रमित हुन नदिनका लागि अभिभावकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । वयस्क वा प्रौढमा कोरोना नियन्त्रण गर्न जति सजिलो छ, बालबालिकामा त्यो भन्दा कयौँ गुणा गाह्रो हुन्छ । त्यसैले क्रमशः उपचारको पाटो नै दह्रो बनाउँदै जानुपर्छ । जोखिमको सञ्चार अहिलेदेखि नै गर्नुपर्छ । र समुदायस्तरमा जनचेतना फैलाउनुपर्छ । आमा, परिवारका सदस्य, उपचार गर्ने स्वास्थ्यकर्मीहरु, र विज्ञहरुलाई अहिलेदेखि सम्भावित जोखिमको सन्देश दिन आवश्यक हुन्छ । उज्यालो अनलाइनबाट

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस