नेपालले आज बलियो अष्ट्रेलियाविरुद्ध खेल्दै

काठमाडौ । वर्ष एसियायी मुलुक कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणबाटै बाहिरिएको नेपालले आज समूहको अन्तिम खेलमा बलियो अष्ट्रेलियासँग खेल्नेछ ।

कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार पौने १० बजेपछि सुरु हुने खेलमा नेपाललाई एसियाको पावर हाउस अष्ट्रेलियाविरुद्ध खेल्न निकै मुस्किल देखिने छ ।

तर नेपालका मुख्य प्रशिक्षक अब्दुलाह अलमुताईरीले अष्ट्रेलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजना रहेको उल्लेख गरेका छन् । र बलियो अष्ट्रेलियाविरुद्ध राम्रो खेल पस्कने भावना प्रकट गरेका छन् ।

नेपालका लागि उनको रणनीतिले सकारात्मक उर्जा पक्कै दिनेछ । बलियो टिमसँग कसरी प्रस्तुत हुने कुरामा नेपाल स्पष्ट पनि देखिएको छ ।

यसअघि छ्नोटकै दौरान अष्ट्रेलियासँगको भेटमा नेपाल उसैको भूमिमा ५-० गोल अन्तरले पराजित भएको थियो । यता पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया छ्नोटको समूह बी को शीर्ष स्थानमा रहेको छ । हालसम्म ६ खेल खेलेको अष्ट्रेलियाको अंकतालिकामा १८ अंक रहेको छ ।

यस्तै १३ अंकका साथ जोर्डन दोस्रो स्थानमा,१० अंकका साथ कुबेत तेस्रो स्थानमा र ६ अंकका साथ नेपाल चौथों स्थानमा रहेको छ। भने अंकतालिकाको पुछारमा रहेको चाइनिज ताइपेई अंकविहिन रहेको छ ।

यता विश्वकपको दोस्रो चरणबाट बाहिर भएपनि सन् २०२३ मा हुने एसियन कपको लागि भने नेपालको सम्भावना जिवितै रहेको छ । त्यसका लागि नेपालले प्ले अफ खेल्नु पर्ने भएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस