कोरोनाको तेस्रो, चौथो लहर आउँदा बालबालिका बढी जोखिममा, स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिडको तेस्रो र चौथो लहर पनि आउनसक्ने चेतावनी दिँदै कुल शय्याको २० प्रतिशत बालबालिकाको उपचारका लागि छुट्याएर राख्न देशभरका सबै अस्पताललाई निर्देशन दिएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहर जस्तै तेस्रो, चौथो लहर पनि आउनसक्ने र त्यसबेला बालबालिका बढी संक्रमणमा पर्न सक्ने भन्दै अहिल्यैदेखि अस्पताललाई बालबालिकाको उपचारका लागि आवश्यक तयारीमा रहन भनेको हो।

अहिलेसम्म अस्पतालहरुमा युवा तथा प्रौढहरुको उपचार तयारी भइरहेको भए पनि अबको संक्रमणमा बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सम्पूर्ण अस्पतालहरुलाई मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयका डा. मदनकुमार उपाध्यायद्वारा जारी सूचनामा भनिएको छ, ‘दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथौ लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दौ आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ। साथै वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्नु हुन अनुरोध छ।’

कोभिड–१९ को दोस्रो लहर सकिएपछि ढुक्क रहने अवस्था नभएको विज्ञहरुले बताउँदै आएका छन्।

उनीहरुका अनुसार कोभिडको तेस्रो लहरमा सबै भन्दा बढी संक्रमणको जोखिम बालबालिलाई रहने छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस