माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन
काठमाडौँ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र संसद सचिवालयमा बुझाएको हो ।
माओवादी केन्द्रले सर्मथन फिर्ता लिएसँगै सरकार अल्पमतमा पर्नेछ । यसअघि मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। २०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो। २८ फागुनमा एमाले र माओवादी केन्द्र पुनस् अस्तित्वमा आएका थिए।
त्यसयता माओवादी केन्द्र राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहे पनि प्राविधिक रुपमा डेढ महिनासम्म सरकारलाई नै साथ दिइरहेको थियो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्। संसद बैठक आह्वान भइसकेको छ।