त्रिदेशीय टी-२० क्रिकेट : नेदरल्याण्ड बिरुद्ध नेपालको रेकर्ड योगफल

काठमाडौं । नेपाल, नेदरल्याण्ड र मलेसिया बीच त्रिकोणात्मक टि–ट्वान्टी सिरिजको उपाधिको लागि नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन् । टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाउँदै नेदरल्याण्डलाई २३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो सर्वाधिक टिम योगफल हो । नेदरल्याण्ड बिरुद्ध नेपालले बनाएको यो हालसम्मकै ठूलो योगफल हो । जारि सिरिजको तेश्रो खेलमा नेपालले नेदरल्याण्ड बिरुद्ध २० ओभरमा ६ विकेट क्षेतीमा २०६ रन बनाएको थियो । उक्त लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा पछ्याउन सफल भएको थियो । नेपालको लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गरे । ८ बलमा १ चौका र २ छक्का मद्दतले १६ रन बनाएका आसिफलाई लेग स्पिनर फिलिपे बोसेभेनले तेश्रो ओभरमा लंग अफमा क्याच आउट गराए ।

दोश्रो विकेटको लागि भुर्तेलले कप्तान ज्ञानेन्द्र मल्लसंग ४७ रन जोडे । १९ बलमा ३ चौका र २ छक्का मद्दतले ३३ रन बनाएका मल्ल १० औं ओभरमा बोसेभेनको दोश्रो शिकार बने । मल्ल मीड अफमा क्याच आउट हुन पुगे ।

तेश्रो विकेटको लागि भुर्तेलले कुशल मल्लसंग ७६ रनको साझेदारी गरे । १६औं ओभरमा भुर्तेललाई सेबास्टिएन ब्राटले क्याच आउट गराए। त्यस अघि भुर्तेलले सिरिजमा चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ८ चौका र ३ छक्का मद्दतले ७७ रन बनाए ।

भुर्तेलको विकेटपछि कुशल मल्ल र दिपेन्द्र ऐरीले आक्रामक ब्याटिंग गर्दै नेपालको योगफल २ सय पार गराए। अन्तिम ५ ओभरमा नेपालले मात्र १ विकेट गुमाएर ८१ रन बनायो। कुशल मल्ल र दिपेन्द्र ऐरीले चौथो विकेटको लागि ७५ रनको साझेदारी गरे ।

कुशल मल्लले अविजित ५० रन बनाए जुन क्रममा २४ बलमा २ चौका र ५ छक्का प्रहार गरे। दिपेन्द्र ऐरीले १८ बलमा ५ चौका र ३ छक्का मद्दतले अविजित ४८ रन बनाए । टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा मल्लको यो पहिलो अर्धशतक हो । नेदरल्याण्डको बलिंगमा लेग स्पिनर फिलिपे बोसेभेनले २ विकेट लिए जुन क्रममा ४ ओभरमा ४३ रन खर्चिए। सेबास्टिएन ब्राटले १ विकेट लिए ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस