प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माणसँगै परियोजना प्रतिवेदन पनि तयार पार्ने : प्रमुख ज्ञवाली
दाङ । प्रदेश राजधानीको गुरुयोजना निर्माण गर्ने मुख्य उद्देश्यले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्याकाको बिजौरीमा कार्यालय स्थापना गरेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानी शहरको गुरुयोजना निर्माण गर्नका लागि परामर्ष दातृ संस्था छनौट गरिएको छ । छनौटमा परेको परामर्ष दातृ संस्थाले राप्ती गाउँपालिकामै मुकाम राखेर भौगोलिक जानकारी लिई आधुनिक राजधानी शहरको परिकल्पना तयार गरी प्रतिवेदन पेश गर्ने पूर्वाधार विकास प्राधिकरणले बताएको छ । प्रतिवेदन तयार गर्नु अघि परामर्ष दातृ संस्थाले राजधानी घोषणा भएको क्षेत्रका स्थानीयहरुसँग सुझावसमेत लिने भएको छ ।
राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरुसँग एक चरणको छलफल आफै गरिसकेको पूर्वाधार विकास प्राधिकरणले राजधानी शहर कस्तो हुने भन्ने परिकल्पनासमेत गरेको र छिटै पुर्वाधार निर्माणका काम हुने पूर्वाधार विकास प्राधिकरणका सिभिल इन्जिनियर तिलकबहादुर गाहाले बताए । प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले राजधानी शहरको काम बाहेक लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशीक अस्पतालको बिस्तृत परियोजना प्रतिवेदन तयारीको काम गरिरहेको छ । राप्ती प्रादेशीक अस्पतालको मास्टर प्लान तयार भैसकेको छ भने बिस्तृत परियोजना प्रतिवेदन तयारीको काम भैरहेको जनाएको छ ।
लुम्बिनी प्रदेशको राजधानी कस्तो बनाउने भन्ने विषयमा मास्टर प्लान भैरहेको र प्राधिकरणले यस्का लागि आवश्यक परियोजना प्रतिवेदन तयार गरिसकेको प्रदेश पुर्वाधार ब्यबस्थापन कार्यालयका प्रमुख रामप्रसाद ज्ञवाली जानकारी दिए । प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले राप्ती गाउँपालिकामा प्रदेश सभा भवन निर्माणका लागि टेण्डर आह्वान गरि भवन निर्माणको काम अगाडी बढाइसकेको जनाएको छ ।
तिन महिना भित्र सम्पन्न गर्ने गरी सभा भवन निर्माणको काम अगाडि बढेको प्राधिकरणले जनाएको छ । प्रदेश राजधानी ब्यबस्थापन तथा विकास निर्माणका कामले गति लिदा ब्यबसायीलाई पनि फाइदा पुगेको छ । राजधानी दाङको देउखुरीमा आएपछि विकास निर्माणका काम र गुरुयोजनारु बनेको बताउँदै प्रदेशको अधिवेशन पनि दाङमा गर्ने तयारी भएको जनप्रतिनिधिको भनाई छ ।
यससँगै यो ठाँउमा निकै चहलपहलमा फरकपन महशुस गरिएको छ । राजधानी आइसकेपछि देउखुरीबासीलाई पनि फाइदा पुगेको छ। विभिन्न सेवा सुबिधाका पनि पाएका छन । ओझेलमा परेका ठाँउको प्रचार भएको छ । देउखुरीबासीको राजधानी प्रतिको अन्योलता पनि हटेको हुँदा स्थानीय नागरिक निकै खुशी छन् । अहिले प्रदेश राजधानी ब्यबस्थापनको लागि जुन गतिमा काम भैरहेको छ । त्यसरी नै काम भैरहयो भने पक्कै पनि समयमै स्थायी संरचना निर्माण हुन आकल गरिएको छ । त्यसका लागि प्रदेश सरकाले नजिकबाट निगरानी गर्न जरुरी छ ।