सल्यानमा कोरोनाबाट एक पुरुषको मृत्यु

सल्यान । कोरोना संक्रमणबाट सल्यानमा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका २ गैरागाउँका ८२ बर्षिय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ । उनका अनुसार खत्रीको एन्टीजीन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

बिगत एक हप्तादेखि बिरामी भएका खत्रीको बिहीबार घरमै मृत्यु भएको स्वास्थ्य सेवा प्रमुख दशरथ श्रेष्ठले बताए । खत्री नेपाल प्रहरीका भु.पु. हवल्दार हुन । उनका ४६ बर्षिय छोरालाई समेत पोजेटिभ देखिएको छ । घरका अन्य परिवारको परिक्षण गर्ने तयारी भई रहेको स्वास्थ्य प्रमुख श्रेष्ठले बताए ।

मृतकको शव नेपाली सेना, नेपाल प्रहरी र आफन्तको सहयोगमा दाहसस्कार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सल्यानमा दुई हप्ताको बिचमा २५ जनामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । संक्रमित मध्ये २ जना गम्भिर बिरामी रहेको र एक जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस