कर्णाली प्रदेश सरकार पुनर्गठन, ‘फ्लोर क्रस’ गर्ने तीन जना मन्त्रीमा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद हेरफेर गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’ गरेर आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् ।

नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गरिएको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । यी तीनैजना एमालेका सांसद हुन् ।

शनिबारमात्र एमाले प्रदेश कमिटीले तीनैजनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् । मुख्यमन्त्री शाहीले माओवादीबाट नयाँ अनुहारसहित नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने तयारी गरेको उनी निकटको भनाइ छ ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस