‘फ्लोर क्रस’ गर्ने एमालेका ३ सांसद पार्टीबाट निष्कासित

प्रकाश ज्वालालाई निष्कासन गर्न केन्द्रलाई सिफारिस

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले नेकपा माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

शाही सरकारलाई विश्वासको मत दिने अर्का सांसद प्रकाश ज्वालालाई पनि पार्टीबाट निष्कासन गर्न केन्द्रलाई पत्र पठाउने निर्णयमा एमाले पुगेको छ । शनिबार बसेको प्रदेश कमिटी बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरूलाई निष्कासित गरेको अध्यक्ष गोरख बोगटीले बताए ।

उनले भने, ‘पार्टीको ह्वीप उल्लंघन गर्ने तीन जनालाई हामीले पार्टी सदस्यबाट निष्कासन गरेका छौँ । एक जनालाई सोही प्रकृतिको कारबाहीका लागि केन्द्रमा पठाएका छौँ ।’ प्रकाश ज्वाला केन्द्रीय सदस्य भएका कारण केन्द्रमा सिफारिस गर्ने निर्णय भएको हो। साथै, बैठकले यी तीनै जनाको सांसद पद खारेजीका लागि पनि केन्द्रलाई सिफारिस गरेको बोगटीले जानकारी दिए।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस