समर्थन फिर्ता देऊ, राजीनामा दिन्छु प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट शनिबार देशभरका १ सय ६५ सडक सञ्जालको शिलान्यास गर्दै उनले आफ्नो राजीनामा माग्नेहरूलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिए । हरेक दिन आफ्नो राजीनामा मागिएको भन्दै प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लेउभन्दा पनि नलिएको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भएको बताउँदै चुनावमा नगइ देश अघि बढ्नै नसक्ने जिकिर गरे । देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने कि देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने भन्दै उनले प्रश्न गरे । प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरूले सरकारले गरेका विकास निर्माणका कामलाई अगाडि नराखेर राजीनामाको समाचारलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि पोखे । प्रधानमन्त्री ओलीले ५७ अर्ब १० करोड रुपैयाँको लागतमा तीन वर्षभित्र सडक निर्माणको काम पूरा गर्ने लक्ष्य रहेको बताए ।

सरकारका काम समयमा पूरा नहुने गरेको भन्दै ढिलासुस्तीको अन्त्य गर्न उनको निर्देशन थियो । विकास निर्माणका काम सुरु गर्दा राज्यको विभिन्न निकायबाटै अवरोध हुने गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस