कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहान ७ बजेबाट सुरु हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत मतदानको समय सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले प्राविधिक तथा सुरक्षाजन्य कारणले बिहीबार मतदान गर्न सम्भव नभएपछि शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको बताए ।

“प्राविधिक समस्या हुने देखिएपछि हामीले भोलि बिहानै ७ बजे मतदान सुरु गर्ने निर्णय गरेका हौँ,” कटुवालले भने, “राति अबेरसम्म मतदान गर्दा सुरक्षाका हिसाबले तथा बत्ती काटिनेलगायतका कारणले असहज परिस्थिति सिर्जना हुने देखियो ।”

उनका अनुसार मतदानका लागि नमुना मतपत्रसमेत निर्वाचन समितिले प्राप्त गरिसकेको छ ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस