दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो। पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइएकोमा थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको हो।

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अदालतबाट अनुमति प्राप्त भएसँगै प्रसाईंमाथि थप अनुसन्धान अघि बढाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो। सामाजिक सञ्जालमार्फत सांसद खतिवडा र उनका दिवंगत छोराबारे प्रसाईंले गरेको टिप्पणीलाई लिएर उजुरी परेको जनाइएको छ। 

प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। अदालतबाट प्राप्त तीन दिनको म्यादभित्र उजुरीसँग सम्बन्धित विषयमा थप अनुसन्धान गरिनेछ। 

प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पक्राउ पर्दै आएका छन्। यद्यपि, पछिल्लो घटनामा उनीमाथि अनुसन्धान जारी रहेकाले आरोप प्रमाणित भइसकेको छैन । 

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस