गुरुकुलमा विद्यार्थीले गरे नमुना संसद, संसदीय अभ्याससँगै संविधानको मर्म बुझ्ने अवसर
घोराही । संविधान दिवसको अवसर पारेर गुरुकुल एकेडेमी दाङले विद्यार्थीहरूको सहभागितामा नमुना संसद कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय तहदेखि नै विद्यार्थीलाई संविधान, संसदीय व्यवस्था, लोकतान्त्रिक अभ्यास तथा राज्य सञ्चालनका प्रक्रियाबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले नमुना संसद आयोजना गरिएको हो।घोराहीमा रहेको बहुउद्धेश्यिय सभाहलमा आयोजना गरीएको कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले प्रतिनिधि सभा तथा प्रदेश सभामा हुने संसदीय गतिविधिको अभ्यास गर्दै सत्तापक्ष, प्रतिपक्ष, मन्त्री, सभामुख, उपसभामुख तथा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए। उनीहरूले संसद बैठक सञ्चालन, प्रश्नोत्तर, सरकारका कामकारबाहीबारे छलफल, प्रतिपक्षको भूमिका तथा सभामुखले बैठक सञ्चालन गर्ने प्रक्रियालगायतका विषयलाई व्यवहारिक रूपमा प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूले वास्तविक संसदको झल्को दिने गरी प्रस्तुत गरेको नमुना संसदले कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाएको थियो। पुस्तकमा पढेका संविधान, संसद, सरकार र लोकतान्त्रिक व्यवस्थासम्बन्धी विषयलाई विद्यार्थीहरूले आफैं विभिन्न भूमिकामा रहेर अभ्यास गर्ने अवसर पाएपछि कार्यक्रम सिकाइसँगै अनुभव प्राप्त गर्ने माध्यम बनेको थियो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुनले नमुना संसद विद्यार्थीका लागि केवल अतिरिक्त क्रियाकलाप नभई लोकतान्त्रिक संस्कार र संसदीय अभ्यास सिकाउने महत्वपूर्ण माध्यम भएको बर्ताए। उनले नेपालको संविधानले जनतालाई सार्वभौम अधिकार प्रदान गरेको उल्लेख गर्दै संविधानको मर्म र लोकतान्त्रिक व्यवस्थालाई बुझ्न विद्यार्थी उमेरदेखि नै अभ्यास र व्यवहारिक सिकाइ आवश्यक रहेको बताए।
पुनले संसद भनेको केवल भाषण गर्ने वा कानून बनाउने ठाउँ मात्र नभई जनताका समस्या, आवश्यकता र अपेक्षालाई राज्यको नीति तथा निर्णय प्रक्रियासम्म पुर्याउने महत्वपूर्ण थलो भएको बताए। उनले संसदमा सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन प्रतिपक्षको रचनात्मक भूमिकाको आवश्यकता रहने बताए। विद्यार्थीहरूले प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्दै संसदीय अभ्यास गरेकोप्रति प्रशंसा गर्दै उनले यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, तर्क गर्ने क्षमता र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने सीप विकास गर्न सहयोग पुग्ने बताए। उनले भने “विद्यार्थीले आज गरेको यो अभ्यास भविष्यमा उनीहरू जुनसुकै क्षेत्रमा पुगे पनि निर्णय गर्ने क्षमता, नेतृत्व गर्ने क्षमता र लोकतान्त्रिक संस्कार विकास गर्न महत्वपूर्ण हुन्छ। संसदमा फरक विचार आउनु स्वाभाविक हो, तर ती विचारलाई मर्यादित र तथ्यमा आधारित ढंगले प्रस्तुत गर्ने संस्कार अझ महत्वपूर्ण हुन्छ।”
पुनले संविधान दिवसलाई औपचारिक रूपमा मनाउनेभन्दा पनि संविधानले दिएका अधिकार, नागरिकका कर्तव्य र लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा बुझ्ने र आत्मसात गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उनले विद्यालयले नमुना संसदजस्तो कार्यक्रममार्फत विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गरेको भन्दै यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रहसमेत गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले विद्यार्थीले संसदीय अभ्यासमार्फत सञ्चार, नेतृत्व र अभिव्यक्ति क्षमताको विकास गर्ने अवसर पाएको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई समाज र राज्यका गतिविधिबारे सचेत बनाउन सहयोग पुग्ने धारणा राखे ।
यस्तै प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वलीले शिक्षालाई किताब र कक्षाकोठामा मात्र सीमित नराखी व्यवहारिक अभ्याससँग जोड्नुपर्ने बताउँदै गुरुकुलको नमुना संसद कार्यक्रम त्यसको राम्रो उदाहरण भएको उल्लेख गर्नुभयो। गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक विवेक देवकोटाले विद्यार्थीको सक्रिय सहभागिताले कार्यक्रमलाई प्रभावकारी बनाएको बताउँदै विद्यालयले सिर्जनात्मक र व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको बताउनुभयो।
यस्तै प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमता विकासका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले विद्यार्थीले संसदको अभ्यासमार्फत लोकतन्त्र, संविधान र नागरिक जिम्मेवारीलाई नजिकबाट बुझ्ने अवसर पाएको बताउनुभयो। गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सहजीकरण तुलसीपुरका सहायक प्रधानाध्यापक सुशील केसीले गर्नुभएको थियो। गुरुकुल एकेडेमीले शिक्षा, संस्कार र व्यवहारिक सिकाइलाई जोड दिँदै विद्यार्थीमा नेतृत्व, अनुशासन, सामाजिक उत्तरदायित्व तथा लोकतान्त्रिक चेतना विकास गर्ने उद्देश्यले विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संविधान दिवसको अवसरमा आयोजित नमुना संसदले विद्यार्थीलाई संविधान र संसदीय व्यवस्थाबारे सैद्धान्तिक ज्ञान मात्र नभई संसदभित्र हुने बहस, छलफल, निर्णय प्रक्रिया र भूमिकाको प्रत्यक्ष अनुभूति गराएको विद्यालयको भनाइ छ।

