गुरुकुल एकेडेमीका विद्यार्थीद्वारा धान रोपेर मनाइयो राष्ट्रिय धान दिवस

दाङ । गुरुकुल एकेडेमीले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयस्तरमै विशेष कार्यक्रम आयोजना गर्दै राष्ट्रिय धान दिवस मनाएको छ। विद्यालयले घोराही उपमहानगरपालिका–७, बेसाहीमा कक्षा प्रि–२, कक्षा १ र कक्षा २ मा अध्ययनरत विद्यार्थीलाई प्रत्यक्ष रूपमा धान रोपाइँ कार्यक्रममा सहभागी गराउँदै कृषि र उत्पादनसँग जोडिएको व्यवहारिक सिकाइको अवसर प्रदान गरेको हो।

आधारभूत तह संयोजक रेशु राउत को नेतृत्वमा सञ्चालन गरिएको उक्त कार्यक्रममा साना विद्यार्थीहरूले खेतमा पुगेर धान रोप्ने प्रक्रिया प्रत्यक्ष रूपमा अवलोकन तथा अभ्यास गरेका थिए। धानको बेर्ना रोप्ने तरिका, खेत तयार गर्ने प्रक्रिया, कृषि श्रमको महत्व तथा अन्न उत्पादनको आधारबारे विद्यार्थीलाई जानकारी गराइएको विद्यालयले जनाएको छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहपूर्वक खेतमा उत्रिएका थिए। उनीहरूले पहिलो पटक धान रोपाइँको अनुभव लिँदै नेपालको कृषि संस्कृतिसँग प्रत्यक्ष परिचित हुने अवसर पाएका थिए। विद्यार्थीहरू खेतमा रमाउँदै सिकाइसँग जोडिँदा कार्यक्रम थप आकर्षक बनेको थियो। विद्यालयका अनुसार यस्ता गतिविधिले बालबालिकामा श्रमप्रतिको सम्मान, कृषि पेशाप्रति सकारात्मक सोच तथा स्थानीय उत्पादन र वातावरणप्रति जिम्मेवारीको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका संयोजक रेशु राउतले बालबालिकालाई सानै उमेरदेखि व्यवहारिक शिक्षासँग जोड्न आवश्यक रहेको बताउँदै कक्षाकोठाको शिक्षालाई वास्तविक जीवनसँग जोड्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उgL elgg\, “बालबालिकाले किताबमा मात्र होइन, प्रत्यक्ष अनुभवबाट पनि धेरै कुरा सिक्छन्। कृषि हाम्रो जीवनको आधार भएकाले विद्यार्थीलाई यसको महत्व बुझाउन धान रोपाइँ कार्यक्रममा सहभागी गराइएको हो।”

विद्यालयले आगामी दिनमा पनि वातावरण, कृषि, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित यस्ता व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रममा शिक्षक, कर्मचारी तथा स्थानीय अभिभावकहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले बालबालिकालाई व्यवहारिक सिकाइसँग जोड्ने विद्यालयको प्रयास प्रशंसनीय रहेको बताएका थिए।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस