नवनिर्मित इजलास कक्ष भवन हस्तान्तरण
दाङ । तुलसीपुर उपमहानगरपालिकाले उच्च अदालत तुलसीपुरको नवनिर्मित इजलास कक्ष भवन हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गरि उक्त भवन अदालतलाई हस्तान्तरण गरिएको हो । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा आगजनी हुँदा पूर्णरूपमा क्षति भई इजलास गर्ने ठाउँसम्म नभएकोमा अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले तत्काल १५ लाख बजेट विनियोजन गरी इजलास कक्ष भवन निर्माण गरी हस्तान्तरण गरेको नगर प्रमुख टिकाराम खड्काले बताए ।
नगरपालिकाको भवन समेत ध्वस्त भएको अवस्थामा आफूहरूले पाल टाँगेर नागरिकलाई सेवा दिएको स्मरण गराउँदै उनले अदालतमा उस्तै समस्या भएकाले इजलास कक्ष वन निर्माणका लागी सहयोग गरेको उनले बताए । संरचना अभावमा अदालतको सेवा प्रभावित नहोस् भनेर इजलास कक्ष भवन निर्माण गरेको उनले बताए ।
सो अवसरमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीले सरकारी संरचनाहरू ध्वस्त भएपनि न्याय अझै नमरेको उनले बताए । सङ्कटको समयमा उपमहानगरपालिकाले महत्वपूर्ण योगदान गरेको प्रति आभारप्रकट गर्दै उनले अदालतको संरचना जलेर पूर्णरुपमा ध्वस्त हुँदा पनि आफूहरूले सेवालाई निरन्तरता दिदैँ आएको बताए । सौ तुलसीपुर उपमहानगरपालिका कार्यालयले अदालतलाई ६ लाख बराबरको फर्निचरका सामग्रीहरू समेत सहयोग गरेको छ ।
