प्रतिनिधिसभा विघटन फिर्ता लिन र संसद् बैठक तत्काल बोलाउन ८ दलको माग
काठमाडौं । ८ राजनीतिका दलका नेताले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन र संसद् बैठक बोलाउन माग गरेका छन् । उनीहरूले र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् ।
शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अलोकतान्त्रिक र असंवैधानिक ढंगले संसद् छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभा विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा विघटनको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा ( ७ ), सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्त एवं संवैधानिक परम्पराविपरीत रहेको उनीहरूले उल्लेख गरेका छन् ।
यसरी विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेस, नेकपा ( एमाले ) , नेकपा ( माओवादी केन्द्र ) , नेकपा ( एकीकृत समाजवादी ), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नागरिक उन्मुक्ति पार्टीका नेता छन् ।

