नेपाल संस्कृत विश्वविद्यालयमा पाँच महिनापछि खुल्यो ताला

दाङ । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी (दाङ) मा विद्यार्थीहरूले गरेको तालाबन्दी पाँच महिनापछि खोलिएको छ । २०८१ साल पुस १२ गतेदेखि लगाइएको ताला  विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच सहमतिपछि आज खुलेको हो । तालाबन्दीका कारण विश्वविद्यालयका शैक्षिक,प्रशासनिक र आर्थिक गतिविधिहरू पूर्ण रूपमा ठप्प भएका थिए। नियमित पठनपाठन, परीक्षा सञ्चालन, क्याम्पसको प्रशासनिक प्रक्रिया तथा आर्थिक कारोबार सबै अवरुद्ध भएका थिए।

विद्यार्थीहरूले लामो समयदेखि विभिन्न माग राखेर आन्दोलन्मा उत्रिएका थिए ।  पटक–पटक उठाइएका मागहरू बेवास्ता भएको भन्दै उनीहरूले आन्दोलनसँगै तालाबन्दी गरेका थिए। यो पहिलो पटक मात्र नभइ, विगतमा पनि विश्वविद्यालयमा पटक–पटक तालाबन्दी हुँदै आएको थियो । यस्ता गतिविधिले शैक्षिक वातावरणलाई निरन्तर प्रभावित पार्दै आएको स्थानीय अभिभावक तथा विद्यार्थीहरूको गुनासो छ। सहमतिपछि विश्वविद्यालयका वार्ता समितिका सदस्यले  विद्यार्थीहरूको मागहरूप्रति विश्वविदयालय संवेदनशील रहेको बताए । विद्यार्थी संगठनका प्रतिनिधिहरूले संवादबाट समाधान भएको बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस