भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको उद्‌घाटन

दाङ ।  दाङको तुलसीपुर उपमहानगरपालिका  १४ स्थित भोजपुर र बाँकी जोड्ने झुलुङ्गे पुलको आइतबार उद्‌घाटन भएको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पुलको उद्‌घाटन गरेका हुन । पुल उद्‌घाटन कार्यक्रमलाई सम्बोधन विगतमा  आफू सामाजिक क्षेत्रमा क्रियाशील रहँदा वर्षा र बबईका कारण कारण हालका तुलसीपुर, १४, १५ मा निकै सास्ती खेप्नु परेको बताएका थिए ।

वर्षाको समयमा आउजाउ नै बन्द हुने र खोला नदीले घेर्दा टापु जस्ता बन्ने ती क्षेत्रको विकास पुल नभइ हुँदैन भन्ने ठानेर ग्वारखोला लगायत बबईका बिभिन्न ठाउँमा पुल निर्माणमा आफूले पहल गरेको  बताए । बबई तरेर गएपनि वर्षामा ग्वारखोलाले बगाउँछ कि भन्ने त्रास उत्तिकै हुन्थ्यो,’ उनले भने ‘ ग्वारखोला र मटेरामा पुल बनाएपछि अहिले वर्षामा पनि ढुक्कले यात्रा गर्न सहज भएको छ । त्यतिखेर आफूले तुलसीपुरबाट छिरिसकेपछि रिङरोड टाइपको होस भन्ने हेतुले ग्वारखोलादेखि बबईमा पुलहरू निर्माण गरेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर – १४ का वडाध्यक्ष शङ्कर खड्काले झोलुङ्गे पुल निर्माण भएपछि अब स्थानीयलाई वर्षाको समयमा भोजपुर र बाँकी आउजाउ गर्न कुनै समस्या नहुने बताए ।  झोलुङ्गे पुल बनेपछि अब निर्धक्क वर्षामा पनि बाँकी बासीले यात्रा गर्न पाउने आशा वडाध्यक्षले व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै झोलुङ्गे पुल निर्माण गर्ने संस्था सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. नहकुल केसीले साढे चार वर्ष पहिले नै भोजपुर र बाँकीको बीचमा पुल निर्माणको लागि सर्भे भएपनि नगरपालिकाबाट उपलब्ध हुने १३ प्रतिशत बजेट अभावले डेढ वर्ष ढिला हुन पुगेको भएपनि पुल निर्माण भएपछि स्थानीयले विगतमा भोग्दै आएको दुःख अन्त्य हुने विश्वास गरे । एक करोड बढीमा निर्मित पुल अब बाँकीको विकासमा महत्वपूर्ण विकासको खुड्किलो हुने केसीले आशा व्यक्त गरे । 

नेपाली काँग्रेसका प्रदेश प्रतिनिधि चुर्ण बहादुर चौधरीले विकासको महत्वपूर्ण खुड्किलो मानिने पुल निर्माण भएपछि वर्षामा बाँकी बासीले बबईमा आउने बाढीका कारण झेल्नु पर्ने सास्ती समाप्त भएको बताए । झोलुङ्गेपुल निर्माण समितिका अध्यक्ष बमबहादुर गिरीको अध्यक्षता भएको कार्यक्रममा स्वागत यज्ञबहादुर घर्तीले गरेका थिए । कार्यक्रमको सहजीकरण धनिराम चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस