निर्धक्क भएर उद्योग व्यवसायमा लगानी गर्नुस् : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रूपन्देहीको तिलोत्तमामा सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापार व्यवसायको वातावरण सरकारले बनाउने हुँदा निर्धक्क भएर लगानी गर्न आमन्त्रण गरे ।
पछिल्लो समय आर्थिक अवस्था सुधार हुन थालेको, उद्योग, व्यवसायको क्षेत्रमा सकारात्मक प्रभावहरू देखिन थालेकोमा खुसी व्यक्त गर्दै उनले तीन तहका सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीहरूमा आमन्त्रण गरे ।
लुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको बताए। उनले आफूले थालेका काम प्रति दृढ विश्वास नहुँदा समाजमा केही विचलन देखिएको उल्लेख गरे ।
उनले तिलोत्तमा लुम्बिनीको मात्रै नभइ देशकै उदाउँदो र नमुना शहरको रुपमा परिचित हुनु गौरवको विषय भएको उनको भनाइ छ । तिलोत्तमा व्यापार सङ्घका अध्यक्ष नेत्रप्रसाद न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवमा विभिन्न क्षेत्रका तीन सय स्टल रहेका छ ।
