सूचना नदिएमा कारवाही गरिन्छ : सूचना आयुक्त गुरुङ

दाङ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक पदधारण गर्ने व्यक्तिले सूचना नदिएमा कारवाही गरिने बताए ।  बुधबार तुलसीपुरमा आयोगको आयोजनामा  भएको  सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले जिम्मेवारीपूर्वक सूचनाको हकको पालना गरेमा कारवाही भोग्न नपर्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरे । 

उनले सार्वजनिक निकायहरूले सूचनाको हकको पालना नगरेको भन्दै हालसम्म बैङ्कका सीईओदेखि रजिष्ट्रार सम्मका ४५ जनालाई जरिवानासहित कारवाही गरिएको बताए। उनले सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई अनिवार्य रूपमा सूचना अधिकारी तोक्न, प्रत्येक ३ / ३  महिनामा प्रगति विवरण सार्वजनिक गर्न, र नागरिकले मागेको सूचना उपलब्ध गराउन आदेश दिइसकेको समेत बताए । 

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुरले सूचना प्रवाहमा कुनै कन्जुस्याँइ नगरेको र त्रैमासिक प्रगति विवरण नियमित सार्वजनिक गर्दै आएको जानकारी दिए। त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक पदधारकले गल्ती नगरेको भए सूचना दिन डराउनु नपर्ने बताए।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस