लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा ऋणको सीमा हटाइयो

दाङ ।  लुम्बिनी सरकारले राजधानी क्षेत्रमा लगाइएको बैकको ऋणको सीमा हटाएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निर्णय गरेको हो । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजधानी क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै ऋणको सीमा हटाइएको जानकारी दिए । उनले जनताको सरकार जनताको पक्षमा काम गर्ने भन्दै जनताको समस्या सरकारले समाधान गर्दै जाने र गरिरहेको समेत बताए ।

लुम्बिनी प्रदेश सरकार ( तत्कालीन प्रदेश सरकार प्रदेश नं ५ , मन्त्रिपरिषद्को मिति २०७७। चैत १३ गते को निर्णय अनुसार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा पर्ने राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको १, २ र ३ तथा अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकाका वडा नं. ८ र ९ का जग्गा धितो राखी ऋण लिने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट “क“ वर्गको मान्यता प्राप्त बैंकमा हाल कायम पूरै कित्ता जग्गा धितो राखी सम्बन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा बीस लाख रुपैयाँसम्म ऋण लिन सकिने शर्त रहेको थियो ।

ऋणको सीमाबाट नागरिकलाई घर व्यवहार चलाउन समस्या परेको, ऋण लगानीबाट आर्थिक क्रियाकलापमा नकारात्मक असर परेकोले र आर्थिक क्रियाकलाप चलायमान बनाउन समेत ऋणको सीमा हटाउन आवश्यक देखिएको ऋणको सीमा हटाइएको मुख्यमन्त्री चौधरीले बताए ।

लुम्बिनी सरकारले २०८० कात्तिक १ गते प्रदेशको राजधानी क्षेत्र भित्रको रोक्का रहेका जग्गा कित्ताकाट नहुने गरी फुकुवा गर्ने निर्णय गरि कार्यान्वयनमा आइसकेको छ । त्यसै गरि लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७७ चैत्र १३ को लुम्बिनी प्रदेशको राजधानीको रोक्का जग्गा फुकुवा गर्ने सम्बन्ध निर्णयको बुँदा नं. ४ खण्ड ( घ ) मा रहेको ऋणको सीमा सम्बन्धी प्रावधान खारेज गर्ने र सोको जानकारी सम्बन्धित निकायमा गराउने निर्णय समेत गरिएको छ ।

यसै गरी मुख्यमन्त्री नव प्रवर्द्धन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको छ । त्यसै गरेर रूपन्देहीमा भाडामा रहेका सरकारी कार्यालयहरूलाई सार्ने व्यवस्था मिलाउनका लागि गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्नेनिर्णय समेत गरिएको छ ।

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस