हरेक तहमा नीति र नेतृत्व आवश्यक छ : पूर्व प्रधानन्यायाधीश कार्की

दाङ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले हरेक तहमा नीति र नेतृत्व आवश्यक रहेको बताइन् । सोमबार दाङको तुलसीपुरमा नीति र नेतृत्व तथा स्थानीय शासन र शुसाशन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले यस्तो बताइन् । उनले नीति नै कानुन निर्माणको खुट्किलो भएको बताइन् । उनले भनिन्‘‘ नीति नभइ कुनै पनि कार्य सम्पादन गर्न सकिँदैन, त्यसैले नीति नै कानुन निर्माणको खुट्किलो हो ।’ त्यस्तै उनले घोषणा, जनताको आवश्यकताका आधारमा नीति बनाउनु पर्ने र सोही अनुरूप कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिन् ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना र मेट्रो कलेजको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा उनले विचारहरूको छलफल र योजना नै नीति भएकाले हरेक क्षेत्रमा नीतिको आवश्यकता हुने जनाइन् । त्यस्तै लेखक तथा पत्रकार हरि बहादुर थापाले बजेट विभाजनमा भिन्नता र तथ्यांक विश्लेषणमा ध्यान दिनुपर्ने बताए । उनले स्थानीय तहमा बनाइएका ऐन कानुन अक्षरशः कार्यान्वयन नभएको तर्क गरे ।उनले पालिका प्रमुख र वडा प्रमुख बिच मतभेद भएकोले जनताहरूको माग अनुसार कामहरू हुन नसकेको बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका शासन र सुशासनका हिसाबले अब्बल बन्नुपर्ने र जनतासामु राखिएका एजेन्डाहरू पूरा गर्न तर्फ लाग्नुपर्ने सुझाव दिए ।कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष बिरेन्द्र शाह, वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतले स्थानीय तहका जनप्रतिनिधिलाई अधिकार दिएपनि त्यसको प्रयोगका श्रोतसाधन उपलब्ध नभएको भन्दै अधिकार कार्यान्वयनमा समस्या रहेको बताएका थिए।

त्यस्तै लेखक तथा पत्रकार सुदर्शन रिजाल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य देवेन्द्र बस्नेत, अधिकारकर्मी युवा करार, ज्येष्ठ नागरिक समाज लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीले लगायतले स्थानीय तहले बनेका ऐन कानुनहरू कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए । उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव वलीले गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको छलफलमा नेपाल पत्रकार महासन्धिका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सहमतिको नाममा लोकतन्त्रलाई उल्झनमा राखिनु गलत भएको बताए ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस