दाङमा राती १० सम्म मात्र देउसी भैलो खेल्न पाइने
दाङ । दाङमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङले एक विज्ञप्ति जारी गरी राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्ने समय निर्धारण गरेको हो । यस्तै पटकाजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको छ । भुइँचम्पा , पटका, आतिशबाजी जस्ता विस्फोटक र प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी समेत उल्लेख छ ।
यस्तै जिल्लामा विदेशी माछा र दुग्ध पदार्थको आयातमा समेत कडाइ गरिएको छ । गृहमन्त्रालयको निर्देशन बमोजिम दाङमा विदेशी माछा र दुग्ध पदार्थको आयात तथा उपभोगमा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकार साबित्रा पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै प्लास्टिक जन्य फूल तथा मालाको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । वातावरण र स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी प्लास्टिक जन्य फूल तथा मालाको बिक्री वितरण प्रयोग नगर्न अनुरोध गरिएको छ । विज्ञप्तिमार्फत तिहारमा स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।

