गणपति तेल मिलमा आगलागी हुँदा करोडौँको क्षति
दाङ । दाङको तुलसीपुर ६ मा रहेको गणपति तेल मिलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । शनिबार बिहान करिब साढे एक बजेको समयमा तेल मिलमा आगो लागेको अनुमान गरिएको छ । आगलागीबाट २ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको भएपनि यकिन अझै हुन सकेको छैन । आगलागीको कारण अझै खुल्न सकेको छैन् ।
आगलागी भएको जानकारी पाए लगत्तै स्थानीय र आसपासका पानी टयाङ्करहरूले आगो नियन्त्रणको प्रयास गरेका थिए । झन्डै १ किलोमटर नजिक रहेको तुलसीपुर उपमहानगरपालिका र त्यहाँबाट द्रुत गतिमा पानी सहित आउनु पर्ने दमकल ढिला पुगेको थियो । जसका कारण आगो नियन्त्रण गर्न निकै सकस भएको थियो । आगो पूर्ण रुपमा नियन्त्रणमा लिन झन्डै साढे ४ घण्टा लागेको बताएको छ ।
तेल मिलको रुपमा यस क्षेत्रमा सबैभन्दा पहिला स्थापना भएको मिल गणपति मिल नै हो । यो २०५१ सालमा स्थापना भएको सञ्चालक हिमाल बस्नेतले बताए ।साविक राप्ती अञ्चल कै पुरानो र ठूलो उद्योग भएको समेत उनले बताए । उनले करिब विहान २ बजेतिर आगलागीको घटना थाहा पाएको समेत बताए ।
उनले भने, ‘हिजो शुक्रबार भएका कारण उद्योगका मेनेजर पनि बिदामा बसेका थिए । यहाँ केही कर्मचारी र गार्ड थिए । उनीहरु अगाडि बस्ने र आगलागी भएको ठाउँ पछाडि भएको हुँदा उनीहरूले थाहा पाएनन् । यहाँका छरछिमेकीले थाहा पाएपछि बल्ल मलाई जानकारी भयो । मलाई जानकारी हुने बित्तिकै हामी आउँदा यहाँ जलेर सबै नष्ट भएको थियो ।’
