खोलाले बगाउँदा बेपत्ता वृद्ध मृत अवस्थामा भेटिए

दाङ ।  पत्रे खोलाले  बगाउँदा बेपत्ता भएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्  ।  घोराही उपमहानगरपालिका ११ झमरे बस्ने ६४ वर्षीय तिलकराम बिकलाई शौच गर्न  गएको  बेला  पत्रे  खोलाले बगाएको थियो ।  आइतबार बिहान खोलाको किनारमा शौच गर्न गएको बेला  बेपत्ता भएको उनी दिउँसो साढे २ बजेतिर खोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता एवं डीएसपी राजन  कुमार गौतमले जानकारी दिए । 

घोराही  ९ तेघरा स्थित हापुर खोलाको किनारमा घोप्टो परेर घाँसमा अडकिएको अवस्थामा फेला परेका थिए ।   उनी सधैँ खोलाको किनारमा  शौच गर्न जाने गर्दथे ।  आज  पनि खोलाको किनारमा शौच गर्न गएको र अबेरसम्म घरमा नफर्किएकोले उनका घरका परिवारले खोलाको किनारमा गएर हेर्दा त्यस ठाउँमा  छाता, चश्मा र लट्ठी फेला परेको हुँदा  उनलाई  खोलाले बगाएको हुन सक्ने भनी  प्रहरीलाई खबर गरेका थिए । 

अस्थाई प्रहरी पोष्ट बेलझुण्डी, इप्रका नारायणपुर दाङ, इप्रका मलवार दाङ, प्रहरी चौकी बिजौरी दाङबाट गरी  १७ जनाको टोली  खटिएर खोज तलास कार्य जारी राखेको र  जिप्रका दाङबाट ११ जनाको टोली उद्धारका सामान सहित खोज तलासको लागि प्रहरी टोली खटेको थियो । 

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस