कोइलावास नाका छिट्टै सञ्चालन आउँछ : मुख्यमन्त्री चौधरी
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले दाङको कोइलावास नाका छिट्टै सञ्चालनमा आउने बताए । आइतबार नेपाल महिला संघ दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू भारत भ्रमणमा जादा उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगीसँग यसका विषयमा कुरा भएको समेत बताए ।
उनले प्रदेश सरकारले आर्थिक समृद्धिलाई पहिलो प्राथमिकतामा राखेको समेत बताए । उनले जनता आर्थिक रूपले सम्पन्न नहुँदा सम्म अन्य विकासका काम पनि दिगो नहुने भन्दै नागरिकलाई आयआर्जनमा जोड्नु वर्तमान सरकारको लक्ष्य रहेको समेत उल्लेख गरे ।
उनले भने,‘ रोजगारी सृजना गर्ने योजना ल्याउनु होस हामी बजेटको कमी हुन दिदैनौँ । आर्थिक विकास हुने खालको कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुटाएको छ । ’ त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य क्षेत्र बलियो बनाउने गरि काम अगाडि बढाएको बताए ।
नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागी प्रदेश सरकार बाट प्रयास भइ रहेको छ । ‘स्वास्थ्य संस्थाहरूमा साधन स्रोत सम्पन्न बनाउन लागि परेका छौ,’ उनले भने । स्वास्थ्य चौकी तथा अस्पताल स्तर उन्नति तथा विशेषज्ञ सेवा प्रदान गर्न थालिएको समेत उनले बताए । उनले लुम्बिनी प्रदेशमा मातृ मृत्युदर को समस्या रहेको भन्दै यसलाई घटाउने चुनौती प्रदेश सरकारलाई रहेको बताए ।

