जंगली च्याउ खाँदा बंगलाचुलीमा आमाछोरा बिरामी
दाङ । बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा आमा छोरा बिरामी भएका छन् । बिरामी हुनेमा बंगलाचुली गाउँपालिका १ स्युजा निवासी ३८ वर्षीय आमा यमा कुमारी कँवर वली र उनका १२ वर्षीय छोरा यकिन वली रहेका छन् । जंगली च्याउ पकाएर खाँदा आमा छोरा बिरामी परेको गाउँपालिका १ का वडाध्यक्ष विष्णु कुवँरले जानकारी दिए । उनीहरूको उपचार अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भैरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्युजा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर ल्याइएको हो ।
उनीहरूले शुक्रवार च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । यता जिल्ला प्रहरी कार्यालय दाङले विषालु च्याउ खान र बिक्री वितरण गर्न समेत सबैमा आग्रह गरेको छ । जिल्लामा गत आर्थिक वर्षमा तुलसीपुर ३ भट्टेका ५७ वर्षीय दानवीर खड्का सहित जिल्लाका विभिन्न ठाउँका १८ जना जंगली विषालु च्याउ खाँदा बिरामी भएको र यस चालु आर्थिक वर्षको असार २८ गतेसम्म राजपुर गाउँपालिका ७ का ६८ वर्षीय महिननाथ कँवरसहित विभिन्न ३५ जना गम्भिर बिरामी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।
विषालु च्याउ खाएका मध्य केही उपचार पश्चात निको भएको र केही अझै निको नभएको हुँदा दिनप्रतिदिन जङ्गलमा च्याउ खोज्न जाने र खाएर बिरामी बढ्दै गएको भन्दै उनले चिनेर मात्र च्याउ खान आग्रह गरेका छन् । यस्तै प्रहरीले च्याउ भाँच्दा चोप निस्कियो भने वा छुँदा त्यसको रङमा परिवर्तन आयो भने त्यस्ता च्याउहरू नखान समेत आग्रह गरेको छ । बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुने हुँदा त्यस्ता प्रकारका च्याउहरू नखान र च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि उठेको देखिएमा त्यो पनि विषालु च्याउ हुने भएकाले नखान समेत आग्रह गरेको छ । यस्तै नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र गोबर, काठ, दाउरामा उम्रेका च्याउहरू विषालु हुने प्रहरीको भनाइ छ ।
विषालु च्याउको वरिपरि कीराहरू नलागेको तर, च्याउहरू देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिने पनि खाना नहुने च्याउ रहेको समेत प्रहरीले जनाएको छ ।
यस्तै च्याउलाई कुखुराको अण्डा एवं दूधमा राख्दा केही समय पश्चात दूध फाटेमा तथा अण्डा जमेमा त्यस्ता च्याउ विषालु हुने हुँदा त्यस्ता प्रकारका च्याउ नखान र नखुवाउनु आग्रह गरिएको छ । यस्तै कहिलेकाहीँ च्याउ आफैमा विषाक्त नभए पनि संकलन र भण्डारणको कारणले पनि विषाक्त बनाउने हुँदा च्याउलाई प्लास्टिक वा स्टिलको भाँडामा गुम्साएर नराख्ने समेत आग्रह गरिएको छ । यस्तै खाने च्याउलाई समेत संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम र टिनको बाकसहरू प्रयोग नगर्न आग्रह गरिएको छ ।
यसैगरी खान मिल्ने फरक फरक प्रजातिका च्याउहरू समेतसँगै मिसाएर नपकाउन आग्रह गरिएको छ । च्याउ पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउनु आग्रह गर्दै उचाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नास नहुने भएको च्याउ खाँदा विशेष सावधानी अपनाउनु प्रवक्ता गौतमले आग्रह गरेका छन् ।



