गंगालाल मार्गको विकासमा राज्यले ध्यान नदिएको गुनासो
दाङ । तुलसीपुर हुँदै सल्यान, रुकुमसम्म जानको लागि राप्ती लोकमार्ग पर्दछ । तर, यो लोकमार्ग अहिले जीर्ण अवस्थामा हुँदा यात्रुहरू जोखिममा यात्रा गर्न बाध्य भएका छन् । हिउँदे धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । कुन बेला पहिरो कहाँ जान्छ, भन्ने पत्ता हुँदैन । तर, तुलसीपुर हुँदै सल्यानको लुहान पुगिने गङ्गालाल मार्ग पनि छ । राप्ती लोकमार्ग भन्दा दूरीमा कम र जोखिम पनि कम तर यसको विकासमा राज्यको ध्यान नगएको स्थानीयहरूको भनाइ छ । स्थानीय यज्ञ बहादुर बुढाका अनुसार गङ्गालाल मार्ग कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने वैकल्पिक मार्ग हो ।
तुलसीपुर ३ बल्लेदेखि दाङ सल्यानको सिमाना मखन टाकुरीसम्मको करिब २ किलोमिटर सडक चौडाइ भएमा र सडकको स्तरोन्नति भएमा यो वैकल्पिक मार्गका रुपमा लिन सकिने उनले बताए । उनले भने,‘ तुलसीपुर बजारदेखि बल्लेसम्म सडक कच्ची भएपनि ठुलो रहेको छ । तर, बल्लेदेखि मखन टाकुरीसम्म साँघुरो सडक भएका कारण ठूला गाडीहरू चल्न हुनसक्दैन । त्यसैले राज्यले यो २ किलोमिटर सडक चौडाइ र कालोपत्रे भएमा राप्ती लोकमार्गको जस्तो सास्ती हुँदैन ।’ यस्तै यो सडकको स्तरोन्नति भएमा सल्यान, रुकुमका नागरिकहरूले छिट्टो र सहज रुपमा यात्रा गर्न सक्ने पनि उनले बताए
। उनका अनुसार गङ्गालाल मार्ग राप्ती लोकमार्ग भन्दा दुरीको हिसाबले कम रहेको छ । उनले यस सडकको विकासका लागि स्थानीय, प्रदेश वा संघ सरकारले विशेष ध्यान दिनु पर्ने पनि बताए । यस्तै तुलसीपुर ३ बल्लेका धनवीर पुनले पनि यस सडकको विकास भएमा आफूहरूलाई पनि राहत मिल्ने बताए । उनले करिब २ किलोमिटर सडकमा कडा चट्टान भएको हुँदा अहिले साना गाडीहरूमा चल्ने गरेको भन्दै राज्यले यसको विकास गर्न सकेमा यहाँका नागरिकहरूलाई पनि सहज हुने बताए । अहिले तुलसीपुर देखि बल्लेसम्म आउनको लागि तुलसीपुरको दमारगाउँसम्म सडक कालोपत्रे भएको भन्दै उनले त्यसपछि माथितिर कच्ची रहेको पनि बताए ।
सडक कच्ची हुँदा बर्खायाममा गाडीहरू सञ्चालनमा समस्या हुने भएको भन्दै उनले यसको विकास भएमा आफूहरूले उत्पादन गरेका वस्तुहरू पनि सहज रुपमा बजार लैजान सक्ने पनि बताए । यस्तै उनले तुलसीपुरबाट गाडीमा राप्ती मार्गबाट जाँदा कपुरकोट पुग्ने बेलामा यहाँबाट हिँडेर सल्यानको लुहाम पुगिने भएकाले पनि दुरीको हिसाबले पनि कम भएको बताए । उनका अनुसार राप्ती लोकमार्ग नहुँदा पहिला दाङ, सल्यान हिँडेर जाने बाटो पनि यही रहेको थियो ।
जोखिम र खर्च पनि कम लाग्ने
दोघरे– नाउला–प्रतापकोट–सल्यान लुहाम सडक खण्ड अन्तर्गत पर्ने गङ्गालाल मार्ग २०७५ सालमा तुलसीपुर उपमहानगरले नामाकरण गरेको थियो । राप्ती मार्गको वैकल्पिक मार्गका रुपमा रहेको तुलसीपुर उपमहानगरपालिका ३ का वडाध्यक्ष वीर बहादुर बिकले बताए । राप्ती लोकमार्गबाट तुलसीपुरबाट सल्यानको कपुरकोट पुग्दा गङ्गालाल मार्गबाट सल्यानको लुहाम पुगिने भएकाले पनि दुरीको हिसाबले कम रहेको उनले बताए । यस्तै उनले यो सडकको विकासको लागि प्रदेश तथा संघ सरकारले ध्यान नदिएको पनि बताए । उनले भने,‘ २०७४ सालमा हामी निर्वाचित भएर आएपछि हामीले यो सडकको नामाकरण गरेका हौँ । अहिले दोस्रो कार्यकालमा पनि म नै आएको छु । तर, अहिलेसम्म प्रदेश र संघ सरकारको ध्यान गएको छैन् । उपमहानगरले आफ्नो बलबुताले भ्याएसम्म सडक गराएका छौँ । ’

यस्तै उनले सडकमा अहिले पनि साना गाडीहरू सञ्चालन हुने भन्दै करिब २ किलोमिटर सडकमा कडा चट्टान हुँदा त्यहाँ सडक चौडाइ गर्नको लागि आर्थिक धेरै लाग्ने भएकाले उपमहानगरको बसमा नभएको पनि उल्लेख गरे । उनले भने,‘ अहिले दोघरेदेखि वडा कार्यालयसम्म करिब ३ किलोमिटर सडक कालोपत्र हुन अवस्था रहेको छ । अहिले पनि करिब २ किलोमिटर कालोपत्रे भइसकेको अवस्था रहेको छ । ’यस सडको स्तरोन्नति भएमा दाङ लगायत सल्यान, रुकुमका नागरिकहरूलाई धेरै सहज हुने पनि उनको भनाइ छ । उनले भने,‘ अहिले राप्ती लोकमार्गका कारणले नागरिकले जुन सास्ती भोगेका छन् । सडक जीर्ण अवस्था रहेको छ । दुर्घटनाको हिसाबले हेर्दा पनि जोखिम पूर्ण रहेको छ । तर, गङ्गालाल मार्गको विकास भएमा त्यो अन्त्य हुन्छ । ’ यस्तै यस सडकको विकासका लागि प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराउने काम भइरहेको पनि उनको भनाइ छ ।
तुल्सीपुरदेखि गङ्गालाल मार्ग अन्तर्गत सल्यानको लुहामसम्म करिब २८ किलोमिटर दूरी रहेको हुँदा पनि राप्ती लोकमार्गमा तुलसीपुरबाट सल्यानको कपुरकोट हुँदै लुहामसम्म जादा करिब १३ / १४ किलो मिटर दूरी फरक पर्ने पनि उनले बताए । यस्तै गङ्गालाल मार्ग अन्तर्गत कुटीदेखि सल्यानको लुहामसम्म कुनै पनि ठाउँमा कल्भर्ट वा बनाउनु पर्ने अवस्था नभएको पनि उनले बताए । राप्ती लोकमार्गमा लाग्ने खर्च भन्दा न्यूनतम खर्चमा यो सडकको विकास गर्न सकिने पनि उनले उल्लेख गरे ।
उनले भने,‘ अहिले राप्ती लोकमार्गको स्तरोन्नति गर्ने कुरा भइरहेको छ । त्यसमा लाग्ने खर्चको आधा खर्चले यस सडकको विकास हुन्छ । यसमा राज्यले ध्यान दिन जरुरी रहेको छ । उपमहानगर केही ठाउँमा चौडाइ गरिरहेको छ । केही ठाउँमा समान्य पर्खाल, नाला तयार गरेपछि सडक कालोपत्र गर्न सकिन्छ । यस्तै राप्ती मार्गको जस्तो पहिरो जाने जोखिम क्षेत्र पनि यसमा पर्दैन ।’ यस्तै यो सडक निर्माणको लागि २०७ ÷ ७८ मा डीपीआर बनाएको भएयता पनि त्यो अहिलेसम्म कागजमा सीमित रहेको पनि उनले बताए । उनले भने,‘ तत्कालीन प्रदेश सरकारमा मुख्यमन्त्री शंकर पोखरेल हुँदा तुलसीपुर – सुर्खेत सडक खण्डको दोघरेदेखि वडा नं. ३ को सीमानासम्म कालोपत्रे गर्नको लागि क्रमागत रुपमा पैसा आइरहेको थियो । तर, प्रदेशमा नयाँ सरकार गठन भएपछि बजेट आएन । क्रमागत रुपमा रहेको योजनाको फाइल फालिएको थियो ।’
