मानवीय विकास पहिलो प्राथमिकता : नगरप्रमुख खड्का
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भौतिक विकासभन्दा प्राथमिकताको विषय मानवीय विकास रहेको बताए । जन्मदर्ताको महत्व तथा कानुनी प्रावधानका सम्बन्धमा सरोकारवाला बीच भएको छलफलका क्रममा उनले भौतिक विकास मात्रै देख्ने परम्परागत धारणाका कारण मानवीय विकासमा ध्यान दिन नसकिएको बताए ।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख खड्काले पालिकाभित्र बालमैत्री शासन कार्यान्वयनका लागि अझै मानवीय विकासका क्षेत्रमा बजेटको दायरा बढाउनुपर्ने बताए ।
उपप्रमुख स्यानी चौधरी आगामी दिनहरुमा संरचनागत बजेटभन्दा मानवीय विकासको बजेट दायरा बढाइने बताइन् । कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख चौधरीले बालबालिकाहरुको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विषयमा गम्भीरतापूर्वक अघि बढ्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार पौडेल, पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।

