डेंगु नियन्त्रण गर्दै देउखुरी मोबाइल व्यवसायी संघ
लमही । अहिले देशैभर डेंगुको संक्रमण बढीरहेको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो भने यो वर्ष असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ ।
यसैलाई मध्यनजर गर्दै दाङको देउखुरीमा देउखुरी मोबाइल व्यवसायी संघले तिब्रगतिमा फैलिरहेको डेंगु रोग नियन्त्रण गर्न सरसफाई अभियान चलाएको सुरुवात गरेको छ । संघले शनिबारको दिन डेंगु रोग फैलाउने लामखुट्टे बस्न सक्ने स्थान लमही बजारका गल्लि, नाली, घाँस पलाएको स्थान, पानी जमेको स्थानमा औषधि छर्किएको संघका संस्थापक अध्यक्ष भीम भुसालले जानकारी दिए । यो देश भर तीब्र गरिमा फैलिरहेको छ, यसलाई नियन्त्रणमा सबै ध्यान दिनु पर्छ भुसालले भने ।
त्यस्तै संघका वर्तमान अध्यक्ष विजय सिंह ठकुरीले दिनहुँ जसो डेंगु रोगका बिरामी बढ्दै जानु सबैको लागि खतरा भएको बताए । बालबालिका देखि वृद्ववृद्वा सम्म जोखिममा रहेकोले हामीले पनि समाजका लागि केहि गरौँ र गर्नु पर्छ भन्ने संदेश दिनका लागि यो अभियान गरेको अध्यक्ष ठकुरीले बताए । आज हामीले अरुको मुख ताकेर बस्यौं भने महामारीले हामीलाई पनि छोड्दैन, त्यसकारण बेलैमा सबैले सजग भएर आफ्नो वरपर सरसफाईमा बिशेष ध्यान दिनु पर्छ भन्ने संदेश पनि दिएका छौं’ अध्यक्ष ठकुरीले भने ।
देउखुरी मोबाइल व्यावसायि संघ ब्यापारी हरुको साझा संगठन हो तर संघले सामाजिक कामलाई निरन्तरता दिंदै आएको छ ।

