देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाण्डौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना छ।
यस्तै भोलि आइतबार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार पनि प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
