पहिरोमा पुरिएका आमाछोरीको मृत्यु, एक जनाको उद्धार
रुकुम पश्चिम । अविरल वर्षाको कारण आईतबार आएको पहिरामा परेर आमाछोरीको मृत्यु भएको छ । पहिरोमा पुरिएकी एक बालिकाको जीवितै उद्धार गरिएको छ ।
जिल्लाको आठबीसकोट नगरपालिका १४ पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको हो । घटनास्थलबाट आठबीसकोट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम पुनले जानकारी अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका १ मैदैकी ३० बर्षिया बालमती राना र उहाँकी दुई बर्षिया छोरी प्रतिक्षा राना रहेका छन् । पहिरोमा आमा र बहिनीसँगै परेकी १२ बर्षिया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको छ ।

आईतबार बिहान जाजरकोटको नलगाड नगरपालिका १ स्थित माईतीघरबाट घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए । सोहि समयमा भवन माथीबाट आएको पहिरोमा परेर उनीहरु पुरिएका हुन् । नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडा अध्यक्ष पुनले बताए । घाईते तिर्सनालाई एम्बुलेन्स मार्फत अस्पताल लिईएको छ ।
वडा अध्यक्ष पुनका अनुसारपहिरोले सोहि ठाउँमा रहेको एक काष्ठ उद्योग समेत पुरेको छ । पहिरोले स्थानीय अनु जैसीको घर र शौचालय पुरेको छ भने सामुदायिक वनको भवन पूर्ण रुपमा क्षति भएको छ । पहिरोसँगै आएको बाढीले स्थानीयका केहि घर जोखिममा छन् भने धानखेती बगाएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।
यसैगरी आईतबार नै जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ५ र ६ मा पर्ने देउता खोलाले बगाउँदा गाउँपालिकाको वडा नम्वर ३ का दलबिर गुरुङ बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार अन्दाजी ७० बर्षिय गुरुङलाई खोलाले बगाएको हो ।
