कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न
दाङ । दाङको तुलसीपुरमा सञ्चालित प्रथम जिल्ला स्तरीय कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स आइतबार सम्पन्न भएको छ । दाङ जिल्ला कराते संघको आयोजनामा सञ्चालित कोर्समा करातेको कुमुते र कातामा हुने प्रतिस्पर्धामा एउटा रेफ्रीले कसरी निर्णायकको भूमिका निर्वाह गर्ने, ध्यान दिनु पर्ने पक्ष, रेफ्री सम्बन्धी पछिल्लो अपडेट, फिजिकल फिटनेस, क्विक डिसिजनलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्समा नेपाल सितोरियो कराते संघका केन्द्रीय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ, नेपाल कराते महासङ्घका केन्द्रीय उपाध्यक्ष बद्रिनाथ श्रेष्ठ, नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बल राज नेपालीले प्रशिक्षण दिएका थिए ।
तीन दिनसम्म चलेको प्रशिक्षणमा जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका ६० बढी सिनियर खेलाडी तथा स्वयंसेवक प्रशिक्षकको सहभागिता रहेको थियो । दाङ जिल्ला कराते संघका अध्यक्ष पदमबहादुर बस्नेतको अध्यक्षता तथा नेपाल सितोरियो कराते संघका केन्द्रिय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा एवं नेपाल कराते महासङ्घका केन्द्रीय उपाध्यक्ष बद्रिनाथ श्रेष्ठ र नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बल राज नेपालीको विशिष्ट आतिथ्यमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र र टाई प्रदान गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि महेशकुमार श्रेष्ठ, विशिष्ट अतिथिद्वय बद्रिनाथ श्रेष्ठ र बल राज नेपाली, दाङ जिल्ला कराते संघका सल्लाहकार लक्ष्मण बस्नेतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव मोहलाल थापाले गरेका थिए ।

