एकै परिवारका पाँच जनाको दाहसंस्कारमा रास्वपा केन्द्रिय सदस्य घिमिरेद्धारा दुख ब्यक्त

दाङ । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप विहीबार दिउँसो थवाङ गाउँपालिका–१, जलजलामा भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका पाँच जनाको दाहसंस्कारमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य इन्जिनियर अनन्तराज घिमिरे सहभागी भएका थिए।

दाहसंस्कार कार्यक्रममा सहभागी हुँदै उनले दुर्घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरे । साथै शोकमा डुबेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस्तो दुःखद् घटनाले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको बताए ।

घिमिरेले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राज्यले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए । “यस्ता पीडादायी घटनामा पीडित परिवारलाई सरकारले तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउनु आवश्यक छ,” उनले भने । उनले आफू पार्टीको केन्द्रीय सदस्यको हैसियतले पीडित परिवारलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे । साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका सडक सञ्जालको अवस्था सुधार गर्न सरकार गम्भीर हुनुपर्ने बताउँदै जनताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

उक्त दुर्घटनामा जिपमा सवारमध्ये २० जनाको ज्यान गएको थियो, जसले समग्र क्षेत्रलाई शोकमग्न बनाएको छ। दुर्घटनाको कारण र थप विवरणबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाइरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस