केपी ओलीको स्वास्थ्यमा देखिएको समस्या के के हो ?

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा ६ वटा समस्या देखिएका छन्। अस्पतालका अनुसार ओलीलाई मुटुको धड्कन बढ्ने समस्या देखिएको छ। उनी काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्तालतको ‘एनेक्स-१’ को बेड नम्बर ५०१ मा चिकित्सकको निगरानीमा राखिएका छन्।

अस्पताल प्रवक्ता गोपाल सेडाइले बताएअनुसार ओलीलाई मधुमेह, थाइराइड हर्मोनको कमी, उच्चरक्तचाप, पित्तथैलीमा पत्थरी, मिर्गौला प्रत्यारोपणपछि पिसाबको समस्या र मुटुको धड्कन बढ्ने समस्या देखिएको छ।

ओली मिर्गौला प्रत्यारोपण भएका बिरामी हुन् र उनको दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेको छ। पित्तथैलीमा भएको पत्थरी बढ्दै गएको कारण चिकित्सकको सल्लाहपछि थप निर्णय गरिनेछ। शनिबार बिहान जेनजी आन्दोलनको छानबिन गर्न गठन गरिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो।

आईतबार प्रहरीले दुवैलाई हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा निवेदन पेश गरेको थियो। बहसको क्रममा लेखक अदालतमा उपस्थित भएका थिए भने पूर्वप्रधानमन्त्री ओली अस्पतालबाट भिडियो कन्फ्रेन्सिङमार्फत बहसमा सहभागी भएका थिए।

प्रकाशित मिति : २०८२ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस