२०औँ मेधावी छात्रा बन्न सफल दिपशिखालाई विद्यालयद्वारा सम्मान
दाङ । हिमाल एकाडेमी तुलसीपुर दाङले २० औँ मेधावी छात्रा बन्न सफल कक्षा १० मा अध्ययनरत छात्रा दिपशिखा कार्कीलाई सम्मान गरेको छ । बिहीबार मेधावी छात्रा प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक भएसँगै कार्कीले ‘मेधावी छात्रा–२०८२’ को उपाधि हात पारेकी हुन् । विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कार्कीलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै कार्कीले २० औँ मेधावी छात्रा बन्न पाउँदा अत्यन्त खुशी लागेको बताइन् । उनले उपाधिसँगै विद्यालयबाट पाएको सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताउँदै आगामी दिनमा अझ जिम्मेवार र समर्पित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले भनिन्, “यो उपाधि पाउनुमा पहिलो भूमिका मेरा बुवा–आमाको हो, त्यसपछि विद्यालयको । विद्यालयको अनुशासन र गुणस्तरीय शिक्षाकै कारण आज म यहाँसम्म आइपुगेकी हुँ ।” यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मधुसुदन केसीले २० औँ मेधावी छात्राको उपाधि कार्कीले जितेपछि विद्यालयको उचाइ अझ बढेको बताए । उनले प्याब्सन दाङमा आबद्ध निजी विद्यालयमा कक्षा १० सम्म अध्ययनरत छात्राबीच भएको बौद्धिक प्रतिस्पर्धात्मक प्रतियोगितामा जिल्लाका ५७ विद्यालयका १६४ छात्राले सहभागिता जनाएको र सो प्रतिस्पर्धामा कार्कीले उपाधि जित्न सफल भएको जानकारी दिए ।

विगतका वर्षहरूमा पनि यसै विद्यालयका दुई छात्राले मेधावी उपाधि जितिसकेको स्मरण गर्दै उनले खुशी व्यक्त गरे । दिपशिखाले उपाधिसँगै नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेकी छन् । साथै विद्यालयको तर्फबाट कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने घोषणा गरिएको छ । जिल्लाकै सर्वोत्कृष्ट छात्रा बनेसँगै दिपशिखामाथि थप जिम्मेवारी र चुनौती बढेको उल्लेख गर्दै प्रिन्सिपल केसीले आगामी एसईई परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउन आग्रह गरे ।
यसै क्रममा उनले विद्यालयले कक्षा ८ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शैक्षिक भ्रमणमा लैजाने योजना विगतदेखि सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस वर्षदेखि विद्यार्थीका परिवारसहित तीन दिनको शैक्षिक अवलोकन भ्रमण गराइने जानकारी दिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजना, एपेक्स कम्प्युटरको प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा सम्पन्न मेधावी छात्रा प्रतियोगिताको २० औँ संस्करण प्याब्सन दाङको ३५औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो ।

