परिवारको परम्परा जोगाउँदै आएको जितबहादुर चौधरी
दाङ । तुलसीपुर उपमहानगरपालिका १२ कचिलामा अहिले पनि संयुक्त परिवारको परम्परा जोगाउँदै आएको एक घर छ, जितबहादुर चौधरीको परिवार । कुल २५ जना सदस्य एउटै छानामुनि बसेर “सँगै बस्ने संस्कार” जगेर्ना गरिरहेकाले यो परिवार गाउँकै नमुना परिवारका रूपमा चिनिन्छ । गाउँमा यसअघि दुई संयुक्त परिवार थिए, तर अहिले बाँकी रहेको संयुक्त परिवार यही हो । जितबहादुर चौधरी संयुक्त परिवारका जेठा सन्तान हुन् । उनका अनुसार परिवारमा तीन सहोदर भाइ, अङ्कलका दुई भाइ र सबैका सन्तान गरी २५ जना सदस्य छन् ।
उनले भने,‘ मेरा छोराछोरी दुई जना छन्, भाइहरूसँग पनि उस्तै सङ्ख्यामा छोराछोरी छन् । बुवातिरबाट हामी चार जना र अंकलतिरबाट दुई जना गरेर ६ भाइ छौँ ।’ उनका अनुसार पुराना पुस्तामा पनि संयुक्त परिवारको परम्परा रहेको थियो । बुवाहरू पनि सँगै बस्नु भएको थियो । बुवा र कान्छा अङ्कलको निधन भइसेकेको छ, अहिले हामी अङ्कलसँगै एउटै परिवारमा छौँ । यति धेरै सदस्य एउटै घरमा हुँदा आपसी समझदारी र सहयोगको वातावरण मजबुत हुने उनले बताए । उनले भने,‘ सबै जनाले आ–आफ्नो काम गर्छन्, कोही विदेशमा छन्, कोही घरमै, विद्यार्थीहरू पढिरहेका छन् । संयुक्त परिवारमा बस्दा रमाइलो छ, काम पनि सजिलो हुन्छ ।’

उनका अनुसार घरमा सबै सदस्यलाई समान व्यवहार गर्ने चलन रहेको छ । उनले भने,‘ विदेशमा भएका भाइछोराहरूले पठाएको पैसा पनि घरमै खर्च हुन्छ । घरमा बसेकाले कमाएको पनि त्यही । ठूलो परिवार हुँदा सानोतिनो कुराले पुग्दैन, त्यसैले सबै बराबर नै दिनुपर्छ । ’ जितबहादुरकी श्रीमती मिला चौधरी संयुक्त परिवार टिकाउन बुहारीबीचको एकतालाई मुख्य कारण रहेको बताउँछिन् । उनले भनिन्,‘ हामी छ जना बुहारी एउटै घरमा छौँ । एक्लै बसेको भए काम गर्न निकै धौ हुन्थ्यो, तर संयुक्त परिवारमा सबैले आ–आफ्नो जिम्मेवारी लिन्छौँ, त्यसैले कुनै समस्या छैन् । ’ उनका अनुसार घरमा खाना पकाउने पालो छ–छ महिनामा आउँछ । जसको पालो आउँछ, उसैले खाना पकाउँछ । अरूले बाहिरका काम गर्छौँ ।
उनले भनिन्, ‘ यदि हामी बुहारीहरू नमिलेर बसेको भए, अहिले यो परिवार संयुक्त रहँदै नहोला । मिलेर बसेका कारण नै गाउँमै नमुना परिवारका रूपमा रहेको छ ।’ जित बहादुरका आफन्ती चूर्ण बहादुर चौधरीले यसरी मिलेको परिवार देख्दा धेरै खुशी लागेको बताए । यसरी परिवार मिलेर बस्नु धेरै राम्रो कुरा भएको भन्दै उनले पछिल्लो समय विवाह हुने बित्तिकै छुट्टिने गरेको हुँदा यो परिवार मिलेर बसेको देख्दा धेरै खुशी लागेको बताए । आफूहरूको पनि केही वर्ष पहिलासम्म ठुलो परिवार रहेको भन्दै पनि अहिले छुट्टिएर बसेको बताए । उनले भने,‘ हाम्रो थारू समुदायमा पहिला एउटै घरमा सयौँ जनाको परिवार हुन्थ्यो । तर, पछिल्लो समय सबै अलग अलग बस्न थालेका छन्, ।
गाउँमा अहिले जित बहादुरको परिवार मात्र ठुलो छ । ’ थारू समुदायमा कुनै समय संयुक्त परिवारमा बस्ने परम्परा बलियो थियो । तर पछिल्लो समय विभिन्न कारणले संयुक्त परिवारको परम्परा क्रमशः घट्दै गएको छ । अब गाउँमा यस्तो संयुक्त परिवार सबैका लागि उदाहरण बनेको थारू युवा एवं तुलसीपुर उपमहानगरपालिका १२ का वडा अध्यक्ष खुशीराम चौधरीले बताए । संयुक्त परिवारको परम्परा हराउँदै गएको बेला जितबहादुरको परिवार गाउँमै मात्र नभइ समाजका लागि पनि एक प्रेरणाको रूपमा लिन सकिने उनको भनाइ छ । उनका अनुसार आफ्नै बाउ बाजेहरूको पालामा आफ्नो घरमा एक सय पाँच जनाको परिवार रहेको थियो । अहिले आफूहरू छुट्टिएर आफ्नो चार जनाको परिवार रहेको उनले बताए ।

