“मस्यौदा मात्र हैन, व्यवहारिक कार्यान्वयन चाहिन्छ” : सञ्चारकर्मीहरू

दाङ ।  तुलसीपुर उपमहानगरपालिकाले निर्माण गर्न लागेको सञ्चार कार्यविधिको मस्यौदाबारे छलफल गरिएको छ । तुलसीपुर उपमहानगरपालिकामा रहेका सँघार माध्यमलाई व्यवस्थित बनाउने उद्देश्यले निर्माण गर्न लागेको कार्यविधिको मस्यौदामा छलफल गरिएको हो । स्थानीय स्तरमा सञ्चालनमा रहेका रेडियो, पत्रिका, अनलाइन र टेलिभिजनबाट प्रकाशन तथा प्रसारण गरिने लोक कल्याणकारी सूचना तथा विज्ञापनको दररेटका विषयमा गहन छलफल भएको छ । उपमहानगरपालिकाले पछिल्लो समय लोककल्याणकारी सूचनाको दररेट घटाएकोमा सञ्चार संस्थाका प्रमुखहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरूले समय अनुसार दररेट बढाउनु पर्ने नभए पुरानै दररेट कायम हुनुपर्ने माग गरेका छन् । ८ वर्ष अगाडि ८ हजार रहेको लोककल्याणकारी सूचनाको दररेट अहिले बढ्नु पर्ने अवस्थामा घटाएर २ हजारमा ल्याउनु उचित नभएको धारणा सञ्चार सरोकारवालाहरूले राखेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले स्थानीय सञ्चार संस्थाको अभिभावकत्व ग्रहणका लागि ल्याउन थालिएको मस्यौदा सकारात्मक भएको बताए ।  अहिले बनेको मस्यौदामा सच्याउनुपर्ने भन्दै अझै छलफल गरेर कार्यान्वयनमा लैजाने बताए ।

मस्यौदा बनाएर मात्रै नहुने भन्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । कानुनको उद्देश्य भनेको सबैलाई व्यवस्थित बनाउने रहेकाले सबैलाई सहज हुने गरी निर्माण गर्न सुझाव दिए ।  उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले कानुन अनुसारका कार्यविधि बनाएर काम गर्दा प्रभावकारी हुने भएकाले यसलाई छलफल मार्फत पुरा गरेर कार्यान्वयनमा लैजाने बताए । उनले पत्रकारिता क्षेत्र ऐना भएकाले कसैको दवाव र प्रभावमा नपरेर कलम चलाउन पनि पत्रकारलाई आग्रह गरे ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष ओपेन्द्र बस्नेत, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सचिव दीपक बोहोरा लगायतले कुनै पनि स्थानीय सञ्चार संस्थालाई समस्या नहुने गरी मस्यौदा कार्यान्वयनमा आउनु पर्नेमा जोड दिएका थिए  । सञ्चार मस्यौदा कार्यदलका संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष धर्मराज वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सूचना प्रविधि शाखाका प्रमुख बाबुराम न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस