राप्ती प्रादेशिक अस्पतालको अध्यक्षमा लामिछाने नियुक्त
दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्रराज लामिछाने नियुक्त भएका छन्। तुलसीपुर ५ निवासी सञ्चार उद्यमी समेत रहेका लामिछानेले दर्जनौँ विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्व समेत गरिसकेका छन् ।
प्रदेशका १४ वटा सरकारी अस्पताल विकास समिति मध्य सत्तारुढ दुई दलको सहमतिअनुसार एमालेले ७ र काङ्ग्रेसले ७ वटा अध्यक्ष पाएको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताए जस अनुसार लामिछाने नेपाली काङ्ग्रेस कोटाबाट नियुक्त भएका हुन् । त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा एमालेबाट अजयमान श्रेष्ठ नियुक्त भएका छन् ।
प्यूठान अस्पतालको अध्यक्षमा काङ्ग्रेसबाट कृष्णप्रसाद बसेल, रोल्पा अस्पतालमा काङ्ग्रेसबाट शेरबहादुर थापा, गुल्मी अस्पतालमा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, रामपुर अस्पताल पाल्पामा एमालेबाट युवराज खनाल, अर्घाखाँची अस्पतालमा एमालेबाट बलराम मिश्र अध्यक्षमा नियुक्त भएका छन् । त्यस्तै कपिलवस्तु अस्पतालमा एमालेबाट रञ्जित कुमार बर्मा, भीम अस्पताल भैरहवामा काङ्ग्रेसबाट कुलप्रसाद न्यौपाने, पाल्पा अस्पतालमा काङ्ग्रेसबाट अजयमान कर्माचार्य, रुकुम पूर्व अस्पतालमा काङ्ग्रेसबाट लोकेन्द्र शाह, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा एमालेबाट जगदीश चौधरी र भालुबाङ अस्पताल दाङमा एमालेबाट सूर्यप्रकाश शर्मालाई नियुक्त भएका हुन् ।
प्रदेश सरकारले बैशाख १६ प्रदेशभरिका १४ वटा अस्पताल विकास समिति एकै पटक विघटन गरेको थियो । यसअघिको सरकारले २०८० कार्तिक ७ गते अस्पताल सञ्चालनका लागि व्यवस्थापनमा सहयोग गर्ने गरी दुई प्रादेशिकसहित १४ जिल्ला अस्पतालहरूमा अध्यक्ष नियुक्त गरेको थियो । आयुर्वेद अस्पतालमा भने नियुक्त गरिएको छैन ।
