तुलसीपुर महोत्सवमा काम गरेका मजदुरले अहिलेसम्म पैसा पाएनन्

दाङ ।  दाङको तुलसीपुरमा सञ्चालन भएको महोत्सवबाट मजदुरहरू आफूहरू अहिलेसम्म पैसा नपाएको गुनासो गरेका छन् ।  तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा यही फागुन १ गते देखी १७ गतेसम्म सञ्चालन भएको दोस्रो तुलसीपुर महोत्सव २०८१ मा स्टल बनाउने काम गरेका मजदुरसरह अहिलेसम्म  पैसा नपाएको गुनासो गरेका हुन् । तुलसीपुर चेम्बर अफ कमर्सले १० जना मजदुरको झण्डै साढे ३२ लाख रुपैयाँ दिन बाकी रहेको पीडितहरूले मङ्गलवार रिपोटर्स क्लब तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै सबैभन्दा धेरै  पीडित गणेश प्रसाद पन्थीले आफ्नो मात्रै १५ लाख रुपैयाँ पाउन बाकी रहेको बताए । कपिलवस्तुको शिवराज नगरपालिका ५ का पन्थीले महोत्सवमा झण्डै ५ सय ३६ वटा स्टल निर्माण लगायतको गरी १६ लाख रुपैयाँमा सम्झौता भएपनि १ लाख मात्रै पाएको बताए । अन्य १५ लाख रुपैयाँ नपाएपछि दिलाइ दिनका लागी प्रहरी प्रशासनमा धाए नि कुनै सुनवाई नभएपछि बाध्य भएर पत्रकार सम्मेलनको आयोजना गरेको भन्दै उनले बताए ।  पहिले महोत्सव नसकिदै सबै रकम दिने सहमति भएपनि अहिले महोत्सव सकिएको १० दिन बितिसक्दा समेत आफूहरूले पैसा नपाएको पीडितहरूको गुनासो छ ।

महोत्सव आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले पनि यस विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको उनीहरूले बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाबाट चेम्बरले महोत्सव सञ्चालनका लागी अनुमति पाएपनि बिचमा विभिन्न ठेकेदारको कब्जामा महोत्सव गएपछि अहिले मजदुरहरूको बिचल्ली हुने अवस्था आएको हो ।  चेम्बरले अन्य ठेकेदारलाई महोत्सव ठेक्कामा दिएकाले कामदारहरूले ठेकेदारसँग नै सम्झौता गरेका थिए । तर, अहिले ठेकेदार सम्पर्कविहीन भएपछि कामदारहरू अन्योलमा परेका छन् ।

बाहिर जिल्ला काठमाडौँ र सुर्खेतका ठेकेदार भरत वली र घनश्याम श्रेष्ठ अहिले सम्पर्कविहीन भएपछि ठेकेदारसँग समन्वय गराइदिन आग्रह गर्दा चेम्बरका अध्यक्षले कुनै वास्ता नगरेको उनीहरूले गुनासो गरेका छन् । आफूहरूले पैसा नपाउनुमा महोत्सव आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्सकै ठुलो भूमिका रहेको भन्दै उनीहरूले तत्काल आफ्नो पैसा उपलब्ध गराउन माग गरेका छन् ।

चेम्बरले चाहेमा आफूहरूले पैसा पाउने सम्भावना रहेको भन्दै उनीहरूले चेम्बरले यसको जिम्मा लिनुपर्ने बताएका छन् ।  पत्रकार सम्मेलनमा बोल्दै रास्वपा लुम्बिनी प्रदेशका सदस्य भक्त डाँगीले तत्काल पीडितको पैसा फिर्ता गर्न माग गरे। महोत्सव सञ्चालनको जिम्मा लिएको चेम्बर अफ कमर्सले ठेकेदारलाई सिकाएर आफू पन्छिने काम गरिहेको भन्दै उनले कुनैपनि हालतमा पीडितले पैसा पाउनुपर्ने बताए । 

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस