लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

दाङ ।  लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौँ ( हिउँदे )  अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते मङ्गलबार राति १२  बजेदेखि लागू हुनेगरि अधिवेशन अन्त्य गरिएको हो । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

सोही आधारमा प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभामा सूचना पठाएको छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) अनुसार प्रदेश सभा सदस्यहरूलाई जानकारी गराउन  सूचना प्रकाशन गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । 

पुस १६ गतेदेखि सुरु भएको यो अधिवेशनमा ११ वटा बैठक बसेका थिए । प्रदेशसभाका सचिव  पुनका अनुसार अधिवेशनले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित गरेको छ। यसैगरी, यसअघि प्रदेश प्रमुखले प्रमाणीकरण नगरी फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्त सम्बन्धी विधेयक पनि पुनः हुबहु पारित गरिएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस