मानव बेचबिखन नियन्त्रण गर्न सिमाना र सम्बन्ध सुधार हुनुपर्छ: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोहहरू सक्रिय रहेकोप्रति चिन्ता व्यक्त गरे। नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै, यस समस्याको समाधानका लागि दुई देशबीच विशेष नीति अवलम्बन गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन नियन्त्रण सम्बन्धी इन्डो-नेपाल क्षेत्रीय संवाद कार्यक्रमकाे लुम्बिनीमा साेमवार उद्घाटन गर्दै उनले नेपालमा शिक्षा, चेतना र रोजगारीको अभावले पनि मानव बेचबिखनकाे समस्या देखिनु गम्भीर बिषय भएको बताए ।
प्रदेश सरकारले सुरक्षित आप्रवासनलाई प्रवर्द्धन गर्दै, अवैध आप्रवासन तथा मानव बेचबिखन रोक्न विभिन्न कार्यक्रम अघि सारेको उनले बताए । उनले सचेतना अभियान सञ्चालन, सीपमूलक तालिम, सुरक्षित रोजगारीको प्रवर्द्धन तथा सीमा निगरानीलाई कडाइ गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए ।
उनले नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा संयन्त्रलाई सशक्त बनाउन र मानव बेचबिखनविरुद्ध दुवै देशले साझा रणनीति निर्माण गर्नुपर्नेमा जोड दिए । बेस संस्थाका संस्थापक तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीकाे अध्यक्षता तथा मुख्यमन्त्री आचार्यकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे ।
नेपाल र भारतका नीति निर्माता, नागरिक समाज, तथा सरोकारवालाकाे सहभागीतामा सुरक्षित आप्रवासन र मानव बेचबिखन रोकथामका रणनीति, लुम्बिनी प्रदेशमा आप्रवासन र मानव बेचबिखन नियन्त्रणको रणनीति विकासकाे बारेमा छलफल गरिएको थियाे ।