दाङमा अवैध सुन सहित १ जना पक्राउ

दाङ । दाङमा प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ मिलन चोक बस्ने २५ वर्षीय रञ्जित रसाइली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रबार घोराहीमा लु. ४६ प ६१६१ नम्बर मोटरसाइकल प्रयोग गरी अवैध रुपमा सुनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
उनका अनुसार सूचनाका आधारमा गएको प्रहरी टोलीले लु.४६ प ६१६१ नम्बरको मोटरसाइकल खोजतलास गर्ने बेलुका ६ बजेतिर घोराही १५ ट्राफिक चोक स्थित रसाइली लाई फेला पारी उनलाई रितपुर्वक खानतलासी गर्दा २ वटा सिक्री र १ वटा सानो डल्ला फेला परेको थियो । उक्त सुन तौल गर्दा ४९७.०४ ग्राम बरामद भएको र १ लाख ७ हजार ८०० नगद पनि प्रहरीले बरामद गरेको जनाएको छ । प्रहरीले मोटरसाइकल र रसाइलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहको जनाएको छ ।