मुक्तकम्लरीहरुले सामूहिक कृषि खेती गर्दै

दाङ । केही बर्षयता दाङका मुक्तकम्लरीहरु आर्थिक आयआर्जन गर्नको लागि सामूहिक रुपमा कृषि पेशा गर्दै आएका छन् । घोराही ८ र तुलसीपुर १८ मा सयौँ जना मुक्त कम्लरीहरूले पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको सहयोगमा उनीहरूले कुखुरा पालन देखि जग्गा भाडामा लिएर धान, आलु, ब्याजलगायतको तरकारी खेती गर्दै आइएका छन् । जसका कारण उनीहरूले राम्रो आयआर्जन समेत गरेका छन् । घोराही उपमहानगरपालिका ८ बेलुवा र सेवारमा ६६५ जना मुक्तकम्लरी रहेका छन् । उनीहरूले कृषि सहकारी संस्था मार्फत बेलुवा र सेवारमा सामूहिक रुपमा खेती गर्दै आइरहेका छन् ।

बेलुवामा करिब १५ कठ्ठा जमिनमा धान खेती गरेका थिए । त्यसमा सबै खर्च कटाएर ६० हजार बचत भएको संस्थाकी सदस्य अनिता चौधरीले बताइन् । अहिले करिब १५ कठ्ठामा प्याज र ६ कठ्ठामा आलु खेती गरिएको छ । यसरी सामूहिक रुपमा खेती गर्दा राम्रो आम्दानी हुने उनको भनाइ छ । उनले भनिन्,‘ पहिला हामीले आआफ्ना ठाउँमा खेती गर्दै आएका थियौँ । तर ,संस्थाले हामीले गत वर्ष अर्गानिक तरकारी खेतीसँगै मल बनाउने खेती पनि सिकाएको थियो । त्यसपछि हामीलाई सामूहिक रुपमा खेती गर्नको लागि जग्गा भाडामा ल्याइदियो । जसका कारण पनि हामीलाई अझ राम्रो भयो ।’

यस्तै उनले आफूहरू जस्ता मुक्त कम्लहरीहरु मुक्त भएपछि धेरै समस्या र चुनौति भोग्दै आइरहेको भन्दै आफूहरूले कृषि सहकारी संस्था गठन गरेको समेत बताइन् । उनले यसरी सामूहिक रुपमा खेती गर्दै राम्रो आम्दानी भएको भन्दै सहकारीमा आवद्ध सदस्यहरूलाई लगानी गर्ने गरेको बताइन् । उनले भनिन्,‘ अहिले हामीले करिब १५ कठ्ठामा प्याज र ६ कठ्ठामा लोकल आलु खेती गरेका छौँ । हामीले उत्पादन गरेको सबै बिक्री सहजै हुने हामी आशमा छौँ । किन की हामीले अर्गानिक खेती गरेका छौँ । ’ घोराही ८ सेवारमा एक बिगाहा बढि जमिनमा तरकारी खेती गरेका छन् । उनीहरूले यसरी पहिलो पटक सामूहिक रुपमा खेती गरेका हुन ।

तुलसीपुर १८ बिजौरीमा रहेको गन्यारी कृषि सहकारी संस्थामा पनि ५ सय बढि मुक्तकम्लरी आवद्ध छन् । उनीहरूले पनि दाङमा लोप हुँदै गएको तिल्की धान र कुखुरा पालन देखि तरकारी खेती गर्दै आइरहेका छन् । उनीहरूले गत बर्ष धान र तरकारी खेतीबाट राम्रै आम्दानी गरेका छन् । यस्तै धान खेतीसँगै, तरकारी र कुखुरा पालनमा समेत केन्द्रले सहयोग गर्दै आइरहेको छ । पर्यावरणीय दिगो विकास संस्थाले यि मुक्तकम्लरीलाई अर्गानिक खेती गर्नको लागि तालिमसँगै बिउ, मल र जग्गा भाडामा उपलब्ध गराउँदै आएको छ । तुलसीपुरमा एक बिगाहा बढि र घोराहीमा करिब २ बिगाहा जमिन भाडामा ल्याएर उनीहरूले सहयोग गरेको संस्थाका अध्यक्ष डिल्ली बहादुर रावतले बताए ।

घोराही ८ बेलुवामा रहेको मुक्तकम्लहरीको ओजरार कृषि सहकारीलाई करिब १५ कठ्ठामा आफूहरूले जग्गा भाडामा ल्याइदिएको र ऐलानी जग्गा वडा कार्यालयले थप एक बिगाहा जग्गाको व्यवस्था गरेपछि उनीहरूले सामूहिक रुपमा खेती गरेको उनले बताए । यस्तै घोराही ८ सेवारमा पनि एक बिगाहा जग्गा भाडामा ल्याइदिएर लोकल आलु, लगायत अन्य तरकारी खेती गरिरहेको उनले बताए । उनले भने,‘ हाम्रो संस्थाले जिल्लामा विभिन्न ठाउँमा नागरिकहरूलाई अर्गानिक खेतीमा आकर्षण गर्नको लागि तालिमसँगै बिउबिजन सहयोग गर्दै आइरहेको छ । तर, विशेषगरी मुक्त कम्लहरीहरुको आर्थिक आयआर्जनमा बृद्धि गर्नको लागि उनीहरुलाई तालिम, बिउ, मल र जग्गाको व्यवस्था गरिदिएका छौँ ।’

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस