राज्यले शहीदहरू प्रति उचित सम्मान गर्नुपर्छ : गिरी

दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले राज्यले शहीदहरू प्रति उचित सम्मान गर्नुपर्ने बताए । नेपाली काँग्रेस तुलसीपुर उपमहानगर – ५ वडा इकाई समितिले शहीद दिवसको अवसरमा गरेको वडा सम्मेलन तथा शहीद परिवारलाई सम्मान कार्यक्रममा प्रमुख अतिथि नेता गिरीले शहीदको योगदानका कारण अहिलेको परिवर्तन र लोकतन्त्र सम्भव भएको भन्दै शहीदहरूको उचित सम्मान हुनुपर्ने बताए ।
‘नेपाली काँग्रेस भएकै कारण र समाजको हितमा काम गरेकै कारण मारिनु पर्ने अवस्था हिजो काँग्रेस जनहरूले भोगेकै हो,’ उनले भने ‘ आस्थाकै कारण हत्या गरिएकाहरूको पार्टीले उचित कदर र सम्मान नगरे अन्याय हुने छ ।’ वडा इकाई सभापति नवीन बुढाथोकीको अध्यक्षता भएको कार्यक्रमका विशिष्ट अतिथिद्वय मदन धिताल र विमल रिजालले काँग्रेस स्वतन्त्रता र न्यायको पक्षमा सँधै लड्दै आएको तथा भविष्यमा पनि त्यो लडाइ जारी रहने बताएका थिए ।
कार्यक्रमलाई तुलसीपुर – ५ का वडा सदस्य भिमबहादुर केसी लगायत काँग्रेस प्रति आस्था राखेकै कारण जितबहादुर वलीको हत्या गरिएको हुँदा पार्टीले उचित सम्मान दिनुपर्ने बताएका थिए । त्यसक्रममा वलीकी श्रीमतीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण वडा इकाई उपसभापति शिशिरकुमार लामिछानेले गरेका थिए ।