तुलसीपुरमा बैङ्कर्सले सिसिटिभी जडानमा सहकार्य गर्ने

दाङ । ‘‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर अभियान’’ अन्तर्गत तुलसीपुरका बैकर्स र वित्तिय सङ्घ संस्थाहरूका प्रमुखहरूसँग आइतबार तुलसीपुर उद्योग वाणिज्य सङ्घले छलफल गरेको छ ।सो अवसरमा बैकका प्रमुखहरूले सीएसआर अन्तर्गतको बजेट सिसि क्यामरा र सुरक्षाको शीर्षकमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

बैठकमा राष्ट्रिय वाणिज्य बैक तुलसीपुरका प्रबन्धक बिनोद पाण्डेले सामाजिक उत्तरदायित्वको बजेट सुरक्षामा लगाउँदा आफ्नो पनि सुरक्षा हुने र जनताको सुरक्षामा पनि मदत पुग्ने बताए। उनले पहिलो पटक  वाणिज्य सङ्घले सबैसँग परिचय हुने र सुरक्षा जस्तो संवेदनशील काममा  हातेमालो गर्ने अवसरको खोजी गरेकोमा धन्यवाद ज्ञापन गरे ।  सङ्घका अध्यक्ष बिनिल केसीले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम र निजी क्षेत्रको सहकार्यबाट सबै नाकाहरूमा स्तरीय सिसिटिभी क्यामरा जडान गर्न यो अभियान अघि सारेको बताए । 

इलाका प्रशासन, प्रहरी कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयसँगको सहकार्यमा सम्भावित क्षेत्रहरूको छनौट भैरहेको भन्दै अध्यक्ष केसीले क्यामराहरू जडान गर्न पहिलो चरणमा बैङ्कर्सहरूसँग छलफल गरेको बताए । उनले लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पनि सिसि क्यामरा जडान र थप हाईमाष्ट लाइटहरू जडानका लागि ध्यानाकर्षण गराई सकिएको बताए । सो असरमा बैङ्कर्स क्लब अफ तुलसीपुरका अध्यक्ष रञ्जन कोइरालाले २०७१/ ७२ मा पनि  सङ्घको समन्वयमा तुलसीपुरमा पहिलोपटक बजारमा सिसिटिभी जडान गरेको स्मरण गराउँदै यस वर्ष पनि आफूहरू सकारात्मक भएको बताए ।

सो अवसरमा नबिल बैक तुलसीपुरका प्रमुख सुधीर भण्डारीले निजी क्षेत्रसँग सहकार्य गररै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।उनले भने “सुरक्षा सबैका लागि महत्वपूर्ण विषय हो ? यसमा बैङ्कहरू सकारात्मक भएर सहकार्य गर्दा राम्रो हुन्छ।’सो अवसरमा एनआईसी एशियाका प्रबन्धक राजिव ओलीले प्रशासन र सङ्घको आग्रहमा आफूले बैङ्कको बाहिरि भागमा दुईवटा सिसि क्यामरा जडान गरिसकेको बताए ।

अहिले सो क्षेत्रमा भएका दुर्घटनाहरू नियमन गर्न ट्राफिक प्रहरीलाई समेत मदत पुगेको उनले बताए । यस्तै  मुक्तिनाथ बैक तुलसीपुरका प्रमुख सरोज लामिछानेले मुख्य व्यापारीका केन्द्रहरूमा सिसिटिभी जडान गर्नुको फाइदा बैङ्कलाई नै हुन जाने बताए । उनले बैँक भित्रको मात्रै सुरक्षा गरेर नहुने भन्दै बाहिरको पनि सुरक्षा गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन बताए । 

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष विमल रिजालले सबैको प्रयासबाट नै सभ्य र सुरक्षित समाज सम्भव हुने बताए । उनले   सुरक्षा जस्तो संवेदनशील कुरामा निजीक्षेत्रले सँधै चासो दिदैँ आएको बताउँदै आफू अध्यक्ष भएको समयमा जडान भएका क्यामराहरू बिग्री सक्दा समेत कसैले चासो नदिएको बेला दश वर्ष पछि पनि फेरि सङ्घले नै आवाज उठाउनुपर्ने अवस्था सृजना भएको बताए ।  

कार्यक्रममा निवर्तमान अध्यक्ष रामप्रसाद चालिसेले बजारको सुरक्षा गर्नु पहिलो काम भएको भन्दै यो अभियानमा सबै क्षेत्र जोडिनुपर्ने बताए ।  सो अवसरमा बोल्ने वक्ताहरूले  सङ्घले समसामयिक एजेण्डा उठाएको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।‘सुन्दर तुलसीपुर सुरक्षित तुलसीपुर ’ अभियानका संयोजक विमल गौतमको स्वागतबाट सुरु भएको कार्यक्रममा धन्यबाद ज्ञापन उपाध्यक्ष देब बहादुर केसीले गरेका थिए । सो अवसरमा महासचिव केशवराज केसी कार्यसमिति सदस्य मिना रावत लगायत तुलसीपुर क्षेत्रका बिस जना बैकका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस