दंगीशरणको बागरमा २८ गतेदेखि महोत्सव लाग्दै, तयारी तीब्र

दाङ । दाङको बागरमा लाग्ने महोत्सवको तयारी तीब्र रुपमा अगाडि बढेको छ । फ्रेन्ड्स स्केट जोन प्रालि नारायणपुरको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सह–आयोजनामा दंगीशरण– ६ को बागर खोलास्थित हाट हजार लाग्ने स्थानमा यही पौष २८ गतेदेखि माघ ८ गतेसम्म प्रथम दंगीशरण कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव –२०८१ लगाउने तयारी भइरहेको संयोजक अजय बुढाथोकीले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।
उनका अनुसार मेलाको ५० प्रतिशत तयारी पुरा भइसकेको छ ।स्थानीयस्तरमा कृषि सामाग्री प्रदर्शन गरी कृषकलाई प्रोत्साहन गर्ने, दंगीशरण भित्रका ऐतिहासिक, पर्यटकीयस्थलहरूको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले बताए । महोत्सवमा स्थानीयसँगै राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुती रहने छ । महोत्सवको संरक्षकमा दंगीशरण गाउँपालिका रहेको छ । दर्शकलाई महोत्सव स्थलमा प्रवेशका लागी शुल्क १०० रुपैयाँ राखिएको छ ।
ज्येष्ठ नागरिकहरूलाई निःशुल्क व्यवस्था रहेको समेत उनले बताए । झण्डै ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको महोत्सवबाट ६० लाख भन्दा धेरै रकम सङ्कलन हुने अनुमान गरिएको उनको भनाइ छ । महोत्सवबाट बचत भएको पैसा सामाजिक कार्यमा लगाउने समेत उनले बताए । उनले भने,‘ पहिलो पटक यहाँ महोत्सव लाग्दैछ । महोत्सव सफल भएमा यही ठाउँको सामाजिक कार्यमा सहयोग गर्ने हाम्रो योजना रहेको छ । यस्तै उनले महोत्सवमा दंगीशरण डान्स आइडल २०८१ प्रतियोगिता रहेको समेत बताए ।