अनलाइनबाटै नयाँ नागरिकता

दाङ । दाङमा अनलाइनबाट नयाँ नागरिकताको सिफारिस दिने प्रक्रिया शुरु गरिएको छ । विगतदेखि हातले लेखेको अनुसूची सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुग्ने गरेकोमा अब अनलाइनबाट फर्म भरेर नागरिकता पाइने भएको हो । प्रविधिको विकास भएसँगै २१ औं जिल्लाको रुपमा दाङमा नागरिकता लिन अनलाइन प्रणाली शुरु भएको हो ।

दाङमा शुरुमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ की सपना चौधरीले अनलाइन प्रणालीबाट सिफारिस भएको नागरिकता प्राप्त गरेकी छिन् । गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत् अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत यामबहादुर बुढा मगरले जानकारी दिए । १० स्थानीय तह रहेको दाङका सबै पालिकामा प्रविधिको प्रयोग शुरु हुने उनले जानकारी दिए । गृह मन्त्रालयले जिल्लामा रहेका १०० वडाका सचिव र १० वटै पालिकाका सूचना प्रविधि अधिकृतलाई पुस ५ र ६ गते अभिमुखीकरण गरेसँगै घोराहीको वडा नं. ७, ८ ९ र १७ ले अनलाइन प्रविधि शुरु गरेका छन् भने देउखुरीको राप्ती, गढवा र राजपुर गाउँपालिकाका केही वडामा पनि अनलाइन शुरु भएको छ ।

तुलसीपुरमा तयारी भइरहेको र बंगलाचुली गाउँपालिकामा इन्टरनेट समस्याका कारण केही ढिलाइ भए पनि छिट्टै शुरु हुने अधिकृत बुढा मगरले जानकारी दिए । यो प्रणालीमा निवेदकको माग अनुसार विवरण प्रविष्ट गरेपछि सिष्टमबाटै सिफारिस तयार हुने र सिफारिस प्रिन्ट गरेर वडाध्यक्षले सही गरेर छाप लगाएपछि सिष्टममा अपलोड गर्ने गरिन्छ । नागरिकता बनाउँदा हुने त्रुटि कम गर्न, दोहोरो नागरिकता बनाउने समस्या हल गर्न तथा झूटो विवरण दिएर नागरिकता बनाउने समस्या हटाउनका लागि केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीबाट नागरिकता सिफारिस गराउने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

प्रविधिले समयको बचत, खर्चमा कमी र छिटो छरितो सेवाग्राहीले सेवा पाउने मगर बताए । अनलाइन प्रणाली शुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झूटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस