वडा, कृषि, पशु र स्वास्थ्य संस्था आफ्नै भवनबाट सेवा

दाङ । तुलसीपुर उपमहानगरपालिका भाडामुक्त पालिकारुपमा बन्न थालेको छ । उपमहानगरपालिकाका १८ वटै वडा कार्यालयहरुले आफ्नै भवनबाट सेवा दिइरहेका छन् । भाडामा रहेको तुृलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ लेसमेत अब भने आफ्नै भवनबाट सेवा सुरु गर्र्न थालेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाको सेवा आफ्नै भवनबाट सुरु गर्नका लागि संरचना निर्माण कार्यलाई प्राथमिकता क्रममै राखिएको बताए । उनले वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि, पशु शाखालगायत पालिका अन्तर्गतका आफ्नै भवनबाट नगरबासीलाई सेवा दिने गरि काम अघि बढेको बताए । नगरप्रमुख खड्काले पालिका भाडामुक्त बन्न थालेपछि रकम बचतका साथै पालिकाका जग्गाको संरक्षणसमेत हुन थालेको बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ले हाडिमेबाट सेवा दिदै आएको थियो । औपचारिक रूपमा मङ्सिर २२ गतेबाट तोप्पापानीमा नव निर्मित वडा कार्यालय भवनबाट सेवा दिने वडाध्यक्ष प्रेमनाथ योगीले बताए । योगीका अनुसार हाडिमेमा वडा कार्यालय सञ्चालनका लागि मासिक १३ हजार पाँच सय भाडा बुझाउँदै आएको थियो । वडाध्यक्ष प्रेमनाथ योगीले वडाको मध्यभागमा रहेको वडा भवनको प्राङ्गन सम्याउने काम सुरु भएको र सुरक्षाका लागि पर्खाल निर्माणको काम सुरु गरिएको बताए ।
त्यस्तै भाडाबाटै सञ्चालन हुँदै आएका कृषि र पशु शाखासमेत आफ्नै भवनबाट सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए । उनले पालिकाका सबै शाखा, स्वास्थ्य संस्थाहरु क्रमशः आफ्नै भवनबाट सेवा दिन सुरु गरिएको बताए । कृषि शाखाका प्रमुख धनराज गौतमले मासिक ३३ हजार दुवै शाखाको भाडा तिर्दै आएकोमा मङ्सिर महिनाबाट भने आफ्नै भवनबाट सेवा सुरु गरेको बताए ।
पालिकाका स्वास्थ्य संस्थासमेत भाडामुक्त बन्न थालेका छन् । अहिले वडा नम्बर ५ र ६ बाहेकका सम्पूर्ण स्वास्थ्य संस्थाहरू आफ््नै भवनबाट सेवा प्रवाह गरिरहेको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानले बताए ।